कीवर्डहरू -

२० प्रतिशत विदेशी च्यानल मात्रै क्लिनफिडमा

२० प्रतिशत विदेशी च्यानल मात्रै क्लिनफिडमा

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार विदेशी च्यानलमा अनिवार्य क्लिनफिडको नीति लागू भएकोे १ सातामा २० प्रतिशत मात्रै विदेशी च्यानल मात्र क्लिनफिडअनुसार प्रसारणमा आएका छन् ।

बाँकी ८० प्रतिशत च्यानल क्लिनफिडमार्पmत प्रसारण थप १० देखि १५ दिनको समय लाग्ने भएको छ । क्लिनफिडका लागि आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण नै बन्द भएको छ ।

तिनलाई सुचारु गर्न थप समय लाग्ने नेपालस्थित टेलिभिजन च्यानल वितरकहरूले जानकारी दिएका छन् । यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने थियो ।

क्लिनफिड हुन नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द रहेको केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । ऐनले तयारीका लागि १ वर्षको समय उपलब्ध गराएको थियो ।

तर, विदेशी च्यानलहरूले आवश्यक तयारी नगरेपछि सरकारले कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानल प्रसारण गरे कारबाही गर्ने बताएको थियो ।

बन्द भएका च्यानलहरूमा सरकारले जारी गरेको सूचना राखिएका छन् । अध्यक्ष पराजुलीका अनुसार बढीमा थप १०–१५ दिनभित्र सम्पूर्ण तयारी सकिने र सबै च्यानल क्लिनफिडमारफत नै प्रसारणमा आउनेछन् ।

‘कतिपयको तयारी पहिले नै थियो । कतिपयले तयारी गर्दागर्दै पनि कोभिड–१९ को कारण समयमा काम गर्न सकेनन् । २० प्रतिशत विदेशी च्यालन क्लिनफिडमै प्रसारण भएका छन् । बाँकी १०–१५ दिनभित्रै क्लिनफिडमै प्रसारण हुनेछन्,’ उनले भने ।

क्लिनफिडका लागि उपकरण विदेशबाट ल्याउनुपर्ने तर अन्तरराष्ट्रिय उडानको सीमितता आदि कारणले ढिला भएको उनको भनाइ छ । ऐनको व्यवस्थाअनुरूप च्यानल प्रसारण नहुँदा उपभोक्ताले मर्कामा परेका छन् ।

अग्रिम रकम तिरेर पनि उनीहरूले आफ्नो मन पर्ने टेलिभिजन च्यानल हेर्नबाट वञ्चित भएका छन् । सञ्चार मन्त्रालयका अधिकारीका अनुसार ऐनअनुसार ढिलोचाँडो सबै च्यानल क्लिनफिडमै प्रसारण हुनेछन् ।

कतिपय च्यानल ऐन कार्यान्वयनमा आएको दिनदेखि नै क्लिनफिडमा आएको र बाँकीले पनि तयारी गरिरहेकाले यो समस्या छिट्टै समाधान हुने मन्त्रालयले जानकारी दिएको छ ।

विदेशी च्यानल वितरक र नेपाली सेवा प्रदायकहरूले कोभिडको कारण देखाउँदै ऐन कार्यान्वयनको समय केही पर सार्न माग गर्दै आएका थिए । ऐन निर्माण भएको धेरै समय यो कार्यान्वयनमा नआउँदा यसको विरोध भएको थियो ।

विदेशी च्यानलको दबाबमा सरकारले ऐन कार्यान्वयनमा ढिलाइ गरेको आरोपसमेत लागेको थियो । क्लिनफिड लागू भएपछि टेलिभिजनमा विदेशी विज्ञापन प्रसारण गर्न पाइँदैन ।

क्लिनफिड लागू हुनुपहिले यस्ता विदेशी च्यानलहरूले विदेशी वस्तुको विज्ञापन रकम नतिरी गरिरहेका थिए । विज्ञापन संघ नेपालका अनुसार क्लिनफिड लागू हुँदा नेपाली विज्ञापन बजारको आकार बढ्नेछ । यसले गर्दा भारतीय बजारमा बन्ने र नेपाली भाषामा डबिङ गरेर विज्ञापन बजाउन पनि पाइने छैन ।

डबिङ विज्ञापनको सेन्सर गत वर्षदेखि नै बन्द गरिसकिएको विज्ञापन संघ नेपाल (आन) का अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशि) ले जानकारी दिए । आर्थिक अभियानबाट