कीवर्डहरू -

उद्योग क्षेत्रको पुनरुत्थान गर्न अनलाइन सर्वेक्षण सुरू

उद्योग क्षेत्रको पुनरुत्थान गर्न अनलाइन सर्वेक्षण सुरू

सरकारले कोरोना भाइरस (कोभिड—१९) र बन्दाबन्दीका कारण धराशयी बनेका उद्योग व्यवसाय तथा उद्यमलाई पहिलाकै अवस्थामा फर्काउन उद्योग व्यवसायीसँग सुझाव माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० प्रश्नावली राखेर बन्दाबन्दीमा मारमा परेका उद्योगहरूलाई कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने सुझाव माग गर्दै अनलाइन सर्वेक्षण शुरू गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालभर बन्दाबन्दी जारी गरेको थियो । त्यसले गर्दा स्वास्थ्य, खाद्यन्न लगायत केही उद्योग व्यवसायबाहेक लगभग सबै प्रकारका उद्योग बन्द भएका थिए ।

यद्यपि सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी नगर्दा भने उद्योगहरूको उत्पादन क्षमता औसतमा ६० प्रतिशतभन्दा माथि पुगेको छ ।

मन्त्रालयले उद्यम तथा व्यवसायलाई पहिलाकै अवस्थामा सुचारु गर्न सरकारका तर्फबाट उद्योगी व्यवसायीले चाहेको सहयोगका विषयमा पनि उल्लेख गर्न भनेको छ ।

उद्योगलाई प्रवर्द्धन गर्न सरकारले वित्तीय, नीतिगत, सहुलियत तथा अन्य थप के गर्नुपर्छ भन्ने सुझाव माग गरिएको छ । मन्त्रालयले सोमवार सूचना जारी गर्दै प्रश्नावली भरेर ईमेलमार्फत जानकारी गराउन आग्रह गरेको हो ।

मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाकी उपसचिव प्रदर्शनी कुमारीले समयावधि नतोकिए पनि १ हप्ताभित्र उद्योगी व्यवसायीले फारम भरी पठाउन सक्ने आधारमा सूचना जारी गरिएको जानकारी दिइन् ।

अहिले समय नतोकिएको र त्यस अवधिमा व्यवसायीले पठाएको मेललाई अध्ययन गरेर आगामी कदम लिइने उनको भनाइ छ ।

उद्योगी तथा व्यवसायीले पठाएको सूचनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन पनि तयार गरिने उनले बताए । मन्त्रालयले जारी गरेको सूचना अनुसार लघु उद्यम, घरेलु उद्योग, साना र ठूला उद्योगहरूले प्रश्नावली भर्नुपर्नेछ ।

यस्तै उद्योग व्यवसायको प्रकृति, कोभिडका कारण बन्दाबन्दीको समयदेखि हालसम्म उद्योग व्यवसाय कति समय सञ्चालन रह्यो वा पूर्ण बन्द, आंशिक २५ देखि ७५ प्रतिशतसम्म बन्द, उत्पादनमा आएको ह्रासको अवस्था समेत फारममा खुलाउन मन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ । आर्थिक अभियानबाट