कीवर्डहरू -

गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री गुरुङको निर्देशन

गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री गुरुङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गरी १०३ वर्षे सेवाको इतिहास जोगाउन आग्रह गरेका छन् ।

टेलिकमद्वारा विहीबार यहाँ आयोजित आफ्नो स्वागत समारोहमा मन्त्री गुरुङले मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीको गरिमालाई कायम राख्दै गुणस्तरीय सेवा प्रवाहमा नचुक्न सम्बद्ध अधिकारीलाई आग्रह गरे ।

‘दूरसञ्चार सेवालाई भरपर्दो बनाउनुपर्ने प्रमुख आवश्यकता छ’, मन्त्री गुरुङले भने, ‘दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन सक्यौँ कि सकेनौँ त्यसको लेखाजोखा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ ।’

टेलिकमलाई आफ्नो पहिचान जोगाएर आवश्यक रणनीतिका साथ अघि बढ्न मन्त्री गुरुङले सुझाव दिए । उनले सेवाग्राही कति छन्, तर्जुमा गरेका कार्यक्रम लागू भए कि भएनन्, भएनन् भने किन गरिएन भन्ने कुराको समीक्षा जरुरी रहेको बताउँदै भने, ‘फोरजी सेवाका बारेमा आलोचना सुनिँदै आएको छ, हामी कहाँ अड्किरहेका छौँ, समस्या के हो, यकिन गर्नुहोस्, कतै दुरुपयोग भएको रहेछ भने त्यसको पहिचान पनि गर्नुहोस् ।’

सूचना महामार्ग बनाउने योजनाका विषयमा नयाँ रणनीतिका साथ अघि बढ्न र विगतमा गरिएको प्रतिबद्धता पूरा गर्न उनले आग्रह गरे ।

सबै पालिका र विद्यालयमा ब्रोडब्याण्ड पु¥याउने, फोरजी सेवा विस्तार गर्ने र  भूउपग्रह स्थापनाका लागि कार्य अघि बढाउने विषय कार्यसम्पादन सम्झौतामा उल्लेख भएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसको अक्षरशः कार्यान्वयनमा लाग्न  पनि निर्देशन दिए ।

सबै पालिकामा इन्टरनेट पुर्‍याउन सकियो भने मात्रै पनि ठूलो उपलब्धि हुने उनको भनाइ थियो । उनले टेलिकमको समग्र विकासका लागि रुपान्तरित कार्ययोजना बनाउन आग्रह गरे ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न टेलिकमको महत्वपूर्ण योगदान रहने स्मरण गराउँदै सरकारका प्रवक्ताले त्यसका लागि आउने अवरोध चिर्न सरकार तयार छ भने । खरीद ऐनका विषयमा आएका अप्ठेरा सल्टाउन मन्त्रालयले सहयोग गर्ने आश्वासन पनि उनले दिए ।

राज्यका चार सञ्चार संस्था राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, गोरखापत्र संस्थान र रेडियो नेपालमा धेरै सुधार गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोहीअनुसारको सुधारका काम टेलिकममा पनि जरुरी रहेकामा उनले जोड दिए ।

उनले सरकारी संस्थामा काम गरेर निजी कम्पनीमा योगदान गर्ने कर्मचारीको पहिचान गर्न पनि निर्देशन दिए । “त्यस्ता व्यक्तिहरुलाई प्राइभेट कम्पनीले किनेकाले सरकारी कम्पनी कमजोर भएका छन्, मोबाइल ट्रयाकिङ प्रणाली प्रयोग गरेरै भए पनि खोजी गर्नुहोस्, यो मेरो कडा निर्देशन छ’, मन्त्री गुरुले थपे, ‘पछि कुनै तरिकाले फेला प¥यो भने व्यवस्थापनलाई नै स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउन सक्छ ।’

उनले कर्मचारी सङ्घसङ्गठनलाई पनि संस्थाको हितमा काम गरे आवश्यक सहकार्य गर्न मन्त्रालय तयार रहेको जानकारी गराए ।

सो अवसरमा सञ्चार  मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाली जनतालाई गुणस्तर सेवा दिनु नै संस्थाको प्रमुख उद्देश्य रहेको बताए ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष बस्यालले भने, ‘सेवाप्रति नागरिकले मूल्याङ्कन गरिरहेका हुन्छन्, हरेक गाउँमा पुगेको सेवाले काम गरिरहेको छ कि छैन भनेर अध्ययन गर्नु जरुरी छ ।’ उनले अझै पनि टेलिकम सेवाको माग बढ्दो रहेको जानकारी दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मन्त्री गुरुङसामु कार्यालयले हालसम्म गरेका गतिविधि र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

समारोहमा कर्मचारीले विनियमावली नआउँदा वृत्तिविकासलगायत गतिविधि रोकिएकाले सहजीकरण गर्न मन्त्री गुरुङलाई अनुरोध गरेका थिए । रासस