कीवर्डहरू -

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट

मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट प्रयोग गर्दै आएको छ ।

अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबोट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ ।

कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबोट प्रयोगमा ल्याएको हो । अस्पतालले नर्सिङ रोबोट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् ।

सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार रोबर्टले ढोकादेखि बिरामीको बेडसम्म पुर्‍याउने गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा नर्सिङ रोबोटको प्रयोगले सङ्क्रमितलाई सामान पुर्‍याउन र औषधि प्रयोग गर्न सहज भएको बताए । रोबोटमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ ।

उनले भने, ‘नेपालकै इन्जिनियरले बनाएको नर्सिङ रोबोटको प्रयोगले अस्पतालमा स्वास्थ्यकर्मीलाई सहयोग पुगेको छ, रोबोटको प्रयोगले सङ्क्रमितको उपचारमा सारथि बन्दै गएको छ ।’

आगामी दिनमा रोबोटको प्रयोगलाई थप प्रभावकारी बनाउने अस्पतालले तयारी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।