कीवर्डहरू -

अब सार्वजनिक यातायात अनलाइनबाटै नियमन गरिने, टिकट काट्ने, रुट र समय हेर्ने सुविधा

अब सार्वजनिक यातायात अनलाइनबाटै नियमन गरिने, टिकट काट्ने, रुट र समय हेर्ने सुविधा

नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली शुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरेका हुन् ।

सार्वजनिक यातायातमा टिकट खरिद बिक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले सहयोग गर्न विश्वास लिइएको छ । प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत नियामक निकायले कार्यालयबाट नै सवारीसाधनको नियमन गर्न सक्नेछन् ।

यातायात कम्पनी प्रणालीमा आबद्ध भएपछि सार्वजनिक सवारीसाधन कुन रुटमा, कति बजे छुट्ने, कति यात्रु र ककसले टिकट काटे, यात्रुको सम्पर्क नम्बरसमेत जानकारी पाउन सकिन्छ ।

मन्त्री नेम्वाङले सार्वजनिक यातायातलाई पारदर्शी र जवाफदेही बनाउन प्रविधिको प्रयोगले सहयोग गर्न विश्वास व्यक्त गरे । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक प्रतिनिधिसभामा छलफलका क्रममा छ ।

प्राधिकरणले यातायातका क्षेत्रमा रहेका धेरै समस्याको हल गर्ने उनको भनाइ छ । उनले भने, ‘सार्वजनिक यातायातमा गर्नुपर्ने काममध्ये एउटा अनलाइन टिकट पनि हो ।’

मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले विगतमा सार्वजनिक सवारीसाधन दुर्घटना हुँदा त्यसमा कति यात्रु थिए भन्नेसमेत जानकारी नहुने गरेको बताए ।

उनका अनुसार अनलाइन मोनिटरिङले गर्दा कुनै पनि कम्पनीले टिकट भएर नदिएको वा नभएर नदिएकोदेखि एउटै सिटको टिकट धेरै यात्रुलाई दिएको भए पनि त्यसको जानकारी हुनेछ । विभागले अहिले यातायात व्यवस्थापनमा केन्द्रित भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘विगतमा विभाग राजस्व सङ्कलनमा लागेको सबैको गुनासो थियो, अहिले व्यवस्थापनको काममा बढी लागेको छ ।’

विभागका निर्देशक डा लोकनाथ भुसालले विभागले यो प्रणालीमार्फत कार्यालयबाटै कुन सवारीसाधनमा कति यात्रु छन्, कति बजे गुड्यो र कहाँ जाँदैछ भन्नेलगायत जानकारी पाउने बताए ।

उनका अनुसार विभागले शुक्रबारदेखि नै यो प्रणालीमा आबद्ध हुन यातायात कम्पनीलाई पत्राचार गर्नेछ । उनले भने, ‘अहिले अनौपचारिकरुपमा ३७ कम्पनी आइसकेका छन् भने भोलिदेखि औपचारिकरुपमा अरुलाई ल्याउन थालिनेछ ।’

प्रणालीका डिजाइनर मोहन बेल्वासेले यसले गर्दा नियामक निकाय, यात्रु र व्यवसायी सबैलाई फाइदा हुने बताउनुभयो । कुनै पनि यात्रुले समस्या परेको गुनासो गरेमा त्यसको तत्काल समाधान गर्न सकिने उनको भनाइ छ ।

विभागले ‘मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुबाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद बिक्री निर्देशका, २०७७’ अनुसार नै प्रणाली शुरु गरिएको हो ।

निर्देशिका गत असोज २५ देखि लागू भइसकेको छ । प्रणालीले कोभिड–१९ को जोखिम कम गर्नसमेत सघाउने अपेक्षा गरिएको छ । रासस