कीवर्डहरू -

कोरोनाको खोप खरिद गर्न ७० अर्ब लाग्ने आकलन

कोरोनाको खोप खरिद गर्न ७० अर्ब लाग्ने आकलन

सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ । त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ ।

१२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ । ‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ ।’

प्रवक्ता गौतमका अनुसार अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिनेछ ।

निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ । ‘सम्बन्धित मुलुकको सरकारसँग समन्वय गर्ने र नेपालमा उपलब्ध गराइने आर्थिक सहयोगको केही प्रतिशत खोपलाई छुट्ट्याइदिन आग्रह गर्नुपर्ने हो कि ? विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं’, प्रवक्ता गौतमले भने ।

खोप प्रभावकारी रहेको पुष्टि हुनेबित्तिकै नेपाल ल्याउन सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा श्यामराज उप्रेतीको नेतृत्वमा गठित विज्ञ समितिले परामर्श गरिरहेको छ । अहिले दर्जनभन्दा बढी खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा रहेको छ ।