कीवर्डहरू -

५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने नेपाल राष्ट्र बैंकको तयारी

५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने नेपाल राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले ५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने तयारी गरेको छ । शनिबार जारी फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

राष्ट्र बैंकले केही महिना अगाडी मात्रै युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी रकम सिधैं आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले विदेशमा जाने नेपाली ट्राभलहरुलाई पासपोर्टका आधारमा १५ सय डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ।

५ सय डलरसम्मको अकाउन्ट खोल्न दिने विषयमा छलफल भइरहेको अधिकारीले बताए । ‘पाँचसय डलरसम्मको सुविधा भएमा कुनै पनि सामान, सेवा वा सब्सक्रिप्सन खरिद गर्न सकिन्छ’ उनले भने ।

‍उनले अगाडी थपे, ‘अहिले हामीसँग १४ महिना भन्दा बढिको बस्तु आयात गर्न सक्ने विदेशी मुद्रा सञ्चित अवस्थामा रहेको छ । अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्दा हाम्रो सञ्चित घट्ने अवस्था पनि आउदैन् ।’

‘विजनेस बढ्ने हो, एक्टिभिटी बढ्ने हो, सहजता बढ्ने हो । त्यसले हाम्रो पोजिसनलाई असर गर्दैंन,’ अधिकारिले भने, ‘जुन कुरो संसारभरि भइसकेको छ त्यसलाई हामीले रोकेर राख्नु हुदैन भन्ने मान्यताका साथ हामी काम गरिरहेका छौं । त्यति हो प्रक्रिया पुर्‍याउनु पर्ने छ र अध्ययन पुरा हुनुपर्ने छ ।’