कीवर्डहरू -

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द, अब नयाँ ढंगबाट अगाडी बढ्ने

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द, अब नयाँ ढंगबाट अगाडी बढ्ने

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ ।

स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरुले आशयपत्र पनि बुझाएका थिए ।

तर सोमबार एक सूचना प्रकाशित गर्दैं नेपाल दूरसञ्चार प्राधिरणले २०७३ साल असोज २० गते आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्र र खरिद प्रकिया रद्द गरेको जानकारी दिएको छ ।

\"\"

दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपाल सरकारले स्याटेलाइट नीती पनि ल्याइसकेको र  अब यसलाई फरक ढंगबाट अगाडी बढाउनको लागि पुरानो खरिद प्रक्रिया रद्द गरेको बताए ।

‘४ वर्ष अघि एक किसिमले स्याटेलाइटको परिकल्पना भएको थियो । अहिले स्याटेलाइट नीती पनि आइसकेको छ, उनले भने ‘त्यसपछि स्याटेलाइट प्रविधिमा पनि धेरै परिवर्तनहरु आइसकेका छन् । त्यसमा पनि विचार गर्ने र सरकारले ल्याएको स्याटेलाइट नीति पनि मिट हुने गरी नयाँ ढंगबाट अगाडी बढ्न पुरानो खरिद प्रक्रिया  रद्द गरिएको हो ।’

सरकारले गत असार २ गते स्याटेलाइट नीती पारित गरेको थियो । सन् १९८४ मै अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले नेपालका लागि ५० डिग्री र १ सय २३ दशमलव ३ डिग्री पूर्वी देशान्तरमा स्याटेलाइट राख्ने स्थान (अर्बिटल स्लट) उपलब्ध गराएको थियो ।