कीवर्डहरू -

उपत्यकामा कतै खुले, कतै खुल्ने तयारीमा विद्यालय

उपत्यकामा कतै खुले, कतै खुल्ने तयारीमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ ।

उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् ।

ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ । कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् ।

महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताए ।

सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ ।

सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ । काठमाडौं महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न सकेको छैन ।

महानगरले विद्यालय कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल जारी राखेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।