कीवर्डहरू -

उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था

उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन सञ्चालन हुन थालेको छ ।

यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् । ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्रका शैक्षिक संस्थाहरु सुचारु गर्ने निर्णय गरिसकेको छ ।

विद्यार्थीहरु घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै आम अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

स्कुल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड मान्नु अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उनले बताए । हालको अवस्थामा सवै शैक्षिक संस्था खोल्न दिने र कोरोनाको संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने समेत प्रवक्ता महर्जनको भनाइ छ ।

साथै सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरपालिकाले निःशुल्क उपल्वध गराउने निर्णय गरेको समेत प्रवक्ता महर्जनले बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी देशका धेरै ठाउँमा स्कुल, कलेज सुचारु हुन थालेको बताउँछन् ।

कोरोना जोखिमलाई विचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन हुने क्रम दिन प्रतिदिन बढिरहेको उनले बताए । कक्ष सञ्चालन गर्दा विद्यार्थीको संख्या कम गराएर दुई सिफ्ट र जोर बिजोर प्रणालीबाट सुरु भइरहेको समेत अध्यक्ष पुरीले जानकारी दिए ।

दीर्घरोगी बिरामी भएका विद्यार्थीलाई छुट्टै कक्षा र अनलाइन कक्षाबाट सुविधा दिएर पढाइ भइरहेको उनले बताए । चैत्र महिनाभित्र सेसन सिध्याएर सेसन खेर जान दिन हुन्न भनेर तयारीका साथ धेरै ठाउँमा पढाइ भइरहेको उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।