कीवर्डहरू -

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ललितपुर । कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका क्षेत्रमा नवीनतम अनुसन्धान, वैज्ञानिक ज्ञान, प्राविधिक नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ (3rd International Conference on Innovation in Computing, Science, Engineering and Technology–ICICSET 2026) सुरु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा आयोजना भइरहेको सम्मेलनको संयुक्त रूपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल तथा भारतको राँचीस्थित सरला बिरला विश्वविद्यालयका योजना तथा विकास संकायका डिन एवं इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन्स इन्जिनियर्स (IETE), झारखण्डका अध्यक्ष प्रा. डा. विजय कुमार सिंहले उद्घाटन गर्नुभएको हो ।

null

विज्ञान तथा प्रविधि, उच्च शिक्षा र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका तीन प्राज्ञिक व्यक्तित्वको सहभागिताले सम्मेलनको महत्त्व थप बढाएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा उहाँहरूले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) को आयोजनामा भइरहेको सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, अस्ट्रेलिया र मलेसियासहित आठ देशका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वको सहभागिता रहेको छ ।

सम्मेलनलाई कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका विभिन्न क्षेत्रमा भएका अनुसन्धान, नवीनतम उपलब्धि र भविष्यका सम्भावनाबारे ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय शैक्षिक मञ्चका रूपमा लिइएको छ ।

आयोजकका अनुसार सम्मेलनका लागि विभिन्न अनुसन्धानकर्ता तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूबाट ९७ वटा अनुसन्धानपत्र प्राप्त भएका थिए । तीमध्ये ४६ वटा अनुसन्धानपत्र छनोट भएका छन् । प्राप्त अनुसन्धानपत्रमध्ये करिब ४७ प्रतिशत मात्र छनोट हुनु सम्मेलनमा अनुसन्धानको गुणस्तर र शैक्षिक मापदण्डलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।

छनोट भएका अनुसन्धानपत्रहरू सहकर्मी समीक्षा (Peer Review) प्रक्रियाबाट सम्बन्धित जर्नलमा प्रकाशित गरिनेछन् । ती अनुसन्धानपत्रको अनलाइन संस्करण समेत https://journal.ncit.edu.np मार्फत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

सम्मेलनले नेपालसहित विभिन्न देशका अनुसन्धानकर्ता, वैज्ञानिक, इन्जिनियर तथा प्राज्ञिक समुदायबीच सहकार्य विस्तार गर्नुका साथै नयाँ प्रविधि र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय ज्ञान तथा अनुभव आदानप्रदानका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।