कीवर्डहरू -

नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ

नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ

नेपाल फ्लाइङ ल्याब्सले १० हजार अमेरिकी डलर सहितको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । फ्लाइङ ल्याब्सले स्टार्टअप क्याटोगोरीमा ११ लाख रुपैयाँ भन्दा बढी पुरस्कार राशिको ‘टिआइएसीए एयर कार्गो सस्टेनिबिलिटी अवार्ड २०२०’ जितेको हो ।

यो अवार्ड दी अन्तर्राष्ट्रिय एयर कार्गो एसोशिएसन (टिआइएसीए) ले प्रदान गरेको थियो । फ्लाइङ ल्याबले ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोन सञ्चालन गरिरहेको छ ।

नेपाल फ्लाइङ ल्याबले सञ्चालन गरेको ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) ले दुर्गममा गएर क्षयरोग परीक्षणका लागि खकार संकलन गर्ने काम गरेको थियो । ड्रोओट्स ड्रोन प्युठान जिल्लामा सञ्चालनमा ल्याइएको थियो । क्षयरोग परीक्षणको लागि ६ महिनामा ७ सय भन्दा बढि नमुना ड्रोनबाट डेलिभरी भएको थियो । जसमा २५ भन्दा बढी बिरामीहरुको नमुनामा पोजेटिभ इफेक्ट देखाएको थियो ।

क्षयरोग परिक्षणको लागि बिराट नेपाल मेडिकल ट्रष्टले प्युठान जिल्ला अस्पतालमा जिनएक्सपर्ट मेसिन जडान गर्न सहयोग गरेको थियो । जिनएक्सपर्टबाट खकार जाँच गर्दा क्षयरोग हो की हैन् भनेर करिब ९८ प्रतिशत वास्तविक नतिजा पाउन सकिन्छ भने माइक्रोस्कोपबाट खकार जाँच गर्दा ४५ देखि ५० मात्रै प्रतिशत वास्तविक नतिजा पाउन सकिन्छ ।


यो पनि पढ्नुहोस्ः नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार


यस परियोजनामा नेपाल फ्लाइङ ल्याब, ड्रोन नेपाल, बिराट नेपाल मेडिकल ट्रष्ट, वी रोबोटिक्स र जिल्ला जन स्वास्थ्य कार्यालय प्युठान संलग्न रहेका छन् । भने स्टोनी ब्रुक युनिभर्सिटी र निक साइमन इन्स्टिच्युट नेपालको पनि सपोर्ट रहेको छ ।

केही समयअघि दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल (एयुभीएसआई) ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगतको ह्युम्यानिटेरियन क्याटोगोरीमा ड्रोओट्स ड्रोन विजेता हुन् सफल भएको थियो ।

कसरी काम गर्छ ड्रोओट्सले ?

सामुदायिक स्वास्थ्यकर्मीको अनुरोधमा ड्रोन केन्द्रीय अस्पतालबाट उडेर खकार संकलन गर्न दुर्गम क्षेत्रमा जाने गर्छ र उक्त नमुना जाँचको लागि केन्द्रीय अस्पतालमा ल्याउँछ ।

यदि नमुना जाँच गर्दा नतिजा सकारात्मक आएमा उपचारको लागि बिरामीलाई डाइरेक्ट अजरभेसन ट्रिट्मेन्ट सिस्टम (डट्स) विधी प्रयोग गर्ने गरिन्छ ।