कीवर्डहरू -

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दैं महानगर क्षेत्रमा विद्यालय

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दैं महानगर क्षेत्रमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) का कारण जाडो अवधिमा काठमाडौं महानगर क्षेत्रमा विद्यालय खुल्ने सम्भावना न्यून भएपछि विद्यालयहरू वैकल्पिक विधिको पठनपाठनलाई नै थप प्रभावकारी बनाउने तयारीमा जुटेका छन् ।

भौतिक रूपले विद्यालय खुल्ने सम्भावना अब कम्तीमा पनि पुस महिनाभरि नरहेपछि वैकल्पिक मध्येको अनलाइन प्रणालीलाई नै प्रभावकारी बनाइने भएको हो ।

यस वर्षको शैक्षिक सत्र नै भर्चुअल रूपमा नै सकिन सक्ने सम्भावनासमेत देखिएका कारण यसलाई प्रभावकारी बनाउने र छुटेका विद्यार्थीलाई समेत जोड्ने कार्यमा आफूहरू लागेको जानकारी विद्यालयका प्रधानाध्यापकले दिएका छन् ।

राजधानीको जनकल्याण माध्यमिक विद्यालयले कोरोना भाइरसका कारण विद्यालयको नियमित सम्पर्क आउन नसकेका विद्यार्थीको खोजी कार्य थालेको छ ।

विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीमध्ये झन्डै दुई सयको हाराहारीमा विद्यार्थी अझै विद्यालयको सम्पर्कमा छैनन् । विद्यालयका प्रधानाध्यापक कुमारीकमला राईका अनुसार छुटेका विद्यार्थी खोजीका लागि कक्षा शिक्षक तथा अन्य शिक्षक जुटेका छन् ।

विशेषगरी महानगरका सिमाना क्षेत्रका विद्यालयलाई समस्या भएको प्रअ राईले बताए । राजधानीको नन्दी माध्यमिक विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले भौतिक रूपले कक्षा सञ्चालनका लागि महानगरपालिकाले अनुमति नदिएको अवस्थामा अनलाइनलाई नै प्रभावकारी बनाउनुपर्ने सुझाव धेरैतिरबाट प्राप्त भएको बताए ।

उनले अब अनलाइनलाई नै थप प्रभावकारी बनाउनुपर्ने र आफूहरू पनि यसमा नै जुटेको बताए । उनले गत असारबाटै नै आफूहरूले अनलाइन कक्षा सञ्चालन गरेको र शिक्षकहरू पनि यसमा अभ्यस्त भएका कारण अब यसकै माध्यमबाट न्यूनतम सिकाइको सुनिश्चितता गर्न सकिने उल्लेख गरे । यो समाचार आजको गोरखापत्रमा दैनिकमा रहेको छ ।