राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । यसका लागि पठाओ नेपालले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।
अब पठाओ एप मार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँ सम्मको बिमा गरिएको पठाओले जनाएको छ ।
पठाओ नेपालको एप प्रयोग गरी सेवा लिनेदिने सबैले बिमाबाट फाइदा पाउन सक्ने छन् । त्यस्तै पठाओ नेपालले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि ल्याएको छ ।
यो दुर्घटना उपचार बीमा योजना पठाओ एप प्रयोग गरि सेवा लिनेदिने ग्राहक तथा राइडर/चालक दुबैको हकमा लागु हुनेछ । यी दुवै बीमा सुविधा उपयोग गर्न दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।