कीवर्डहरू -

आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद

आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद

एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्डका विजेतालाई ३ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।

शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा विजेता पाइला इमरजेन्सी रेससिटेटरुलाई उक्त सम्मान प्रदान गरेको हो ।

उक्त अवार्ड कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकृत विशालमणी उपाध्याय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका निर्देशक डा. रविन्द्र ढकालले विजेताको नाम घोषणा गर्दै उक्त नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विजेतालाई शिल्ड प्रदान गरेका थिए । एनसेलले नेपाली इन्नोभेसन, स्टार्टअपलाई सहयोग गर्दै आइरहेको छ । यस वर्ष हुवावे आइसिटी अवार्डमा क्याटेगोरी स्पोन्सरको रुपमा सहकार्य गरेको थियो ।

इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स विभिन्न ११ विधामध्ये यस वर्ष विशेष महत्वको अवार्ड विधा रहको थियो । कोभिड नियन्त्रणमा विकास भइरहेका नेपाली प्रविधिलाई नोमिनेशन लिइएको थियो । प्राप्त २६ वटा नोमिनेशनबाट विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ अन्तिम चरणमा प्रतिस्प्रधा गरेका थिए ।

उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा कोभिड १९ निमोनिया डिटेक्सन युजिङडिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमजेन्सी रेससिटेटर, सिस्टर रोबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका थिए ।

एनसेल इन्नोभेसन अवार्ड विजेता पाइला टेक्नोलोजीले कोरोना महामारीको बेला भेन्टिलेटर बनाएको थियो । पहिलो चरणको भेन्टिलेटरलाई स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेपछि पाइला टेक्नोलोजीले हाल दोस्रो चरणको भेन्टिलेटर पनि निर्माण गरिसकेको छ । पछिल्लो समय स्वास्थ मन्त्रालयको स्विकृत प्राप्त गर्दै भेन्टिलेटरको उत्पादन सुरु गरेको हो ।

हुवावे आईसीटी अवार्ड २०२० मा विभिन्न ११ विधामा १२ प्रतिस्पर्धीले अवार्ड प्राप्त गरेका छन । अवार्डमा यस वर्ष ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको थियो ।

१४ जना जुरी सदस्य र १४ जना सल्लाहकार समितीको छनौट पश्चात सर्वोत्कृष्टलाई शनिवार अवार्ड प्रदान गरिएको थियो ।