कीवर्डहरू -

साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण

साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटरहरुको रोष्टर तयार पार्ने भएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एक सूचना सार्वजनिक गर्दैं साइबर सेक्युरिटी अडिटहरुलाई रोष्टर दर्ताको लागि आह्वान गरेको हो ।

उक्त रोष्टरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् । गएको साउनमा प्राधिरणले साइबर सेक्युरिटी विनियमावली २०७७ जारी गरेको थियो ।

उक्त साइबर सेक्युरिटी विनियमावलीमा दूरसञ्चार कम्पनीहरुले हरेक आर्थिक वर्षमा सरकारले तोकेको आईएस अडिटर तथा क्लाउण्ड अडिटरबाट अडिट गराउनुपर्ने प्रावधान राखिएको छ ।
फर्म आफ्नो देशमा दर्ता भएको हुनुपर्ने, नेपाली कम्पनी भए भ्याटमा दर्ता भएको हुनुपर्ने र कर चुक्ता गरेको प्रमाणपत्र बुझाउनुपर्ने जनाइएको छ ।

नेपाली अडिट कम्पनीको विगत तीन वर्षदेखी वार्षिक ५० लाख रुपैयाँको कारोबार भएको हुनुपर्ने छ भने अन्तराष्ट्रिय कम्पनीको हकमा ५० लाख डलरको कारोबार भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
यसका साथै कम्पनी ५ वर्षदेखि संचालन भएको हुनुपर्नेछ भने साइबर सेक्युरिटी, इन्फरमेसन सेक्युरिटी, सेक्युरिटी अडिटमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने छ ।

आईएस अडिटरमा सहभागी हुन चाहने कम्पनीसँग कम्तिमा तीनजना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ । त्यस्ता विज्ञहरुसँग सीआईएसए, सीआईएसएसपी, सीआईएसएम, आईएसओ २०७००१ लगायतमध्ये कम्तिमा कुनै एक प्रमाणपत्र हुनुपर्ने छ ।

त्यस्तै रोस्टरमा सहभागी हुन चाहने कम्पनीहरुले तीन वर्षको अवधिमा कम्तिमा पाँचवटा योजना सम्पन्न गरेको हुनुपर्ने छ । त्यस्तो योजनाको प्रमाण समेत पेश गर्नुपर्नेछ ।

त्यस्तै नेटवर्क । सिस्टम सेक्युरिटी एक्सपर्टसँग जुनिपर, ह्वावे, सिस्को, रेड ह्याटमध्ये कुनै एक सेक्युरिटी प्रमाणपत्र हुनुपर्ने छ ।

यसका साथै वेब/मोबाइल सेक्युरिटी एक्सपर्टका लागि सीईएच, ओएससीपी, सीईएमपी, सीएमडीएसपी, सीडब्लुएएसपीमध्ये कुनै एक प्रमाणपत्र हुनुपर्ने प्रावधान राखिएको छ।

क्लाउड अडिटर तर्फ कम्पनीसँगै तीनजना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ । त्यसमध्ये क्लाउड सेक्युरिटी अडिट एक्सपर्टका लागि सीसीएके, सीसीएसएस, सीसीएसके, सीसीएसपी, सीआईएसए, सीआईएसएसपीमध्ये कुनै एक प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
नेटवर्क/सिस्टम सेक्युरिटी एक्सपर्टका लागि एडब्लुएस, अजुर, गुगलमध्ये कुनै एक प्रमाणपत्र र वेब/डाटावेश सेक्युरिटी एक्सपर्टको लागि सीईएच, ओएससीपी, सीईएमपी, सीएमडीएसपी, सीडब्लुएएसपी र सीडीएपीमध्ये कुनै एक प्रमाणपत्र पेस गर्नुपर्ने न्यूनतम आधार तोकिएको छ ।
निवेदन दिएका फर्महरु मध्येबाट प्राधिरणले रोष्टर तयार गर्नेछ । सो फर्महरु मध्येबाट दूरसञ्चार कम्पनीहरुले कुनै एक अडिटरमार्फत आफ्नो सेक्युरिटी अडिट तयार गर्नसक्नेछन् ।

हेर्नुहोस् सूचना