कीवर्डहरू -

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।

अब टेलिकमले एफटीटीएच मार्फत भ्वाइस सेवा, डाटा सेवा र आईपी टिभी सेवा पनि उपलब्ध गराउन थालेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले एनटी टीभीको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन दिए ।

यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पुर्‍याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको बताए ।

यसैगरी समारोहका सभापति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य राख्दै हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरे ।

उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।

कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । तत्कालका लागि काठमाडौ उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौ बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुनेछ ।

राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ ।

इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक फरक कायम गरिएको छ । बेसिक प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवाको दर १,२३० रुपैयाँ प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा १३,२२० रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी प्रिमियम प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवा १४०० रुपैयाँमा उपलब्ध हुनेछ भने एक वर्षका लागि ६० एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा २४,५०० रुपैयाँमा उपलब्ध हुनेछ । वेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएच अन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध हुनेछ ।  यसका लागि वेसिक प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी सेवा ४८० रुपैयाँमा उपलब्ध हुनेछ भने एक वर्षको ५,७८० रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहेका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी ८०० रुपैयाँमा प्राप्त गर्न सक्ने छन् भने १२ महिनाको एनटी टिभी ८,३०० रुपैयाँमा प्राप्त गर्न सक्ने छन् ।

एनटी टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटिबी (सेट अप बक्स) खरिद गर्नु पर्दछ भने ग्राहकले प्रयोग गरिरहेको ट्रेडिस्नल टिभि सेट र आधुनिक डिजिटल टिभि सेटमा एनटि टिभी हेर्न सकिन्छ ।