कीवर्डहरू -

जनगणनाको तयारी तिब्र रुपमा अघि बढ्यो, यस पटक प्रविधिबाट समेत जनगणना हुने

जनगणनाको तयारी तिब्र रुपमा अघि बढ्यो, यस पटक प्रविधिबाट समेत जनगणना हुने

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको तयारी तीव्र रूपमा अघि बढाएको छ ।

यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ ।

पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो ।

यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, उनले भने, ‘आठ घरमध्ये एक घरलाई छनोट गरेर गरिन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ ।’ १९६८ सालदेखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ ।

७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहको जनगणना गरिनेछ । आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य राखिएको छ।

संघीयतासँगै प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर जनगणना गरिने निर्देशक लामिछानेले बताए । विगतमा कागजी प्रविधिको मात्रै प्रयोग हुने गरेकोमा अब कागजीका साथै विद्युतीय र इन्टरनेट प्रविधिबाट समेत जनगणना हुने उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ट्याब्लेट विवरण संकलन गरिने योजना बनाइएको छ । अन्य स्थानमा कागजमा नै विवरण भरिनेछ । विदेशस्थित राजदूतावास, कूटनैतिक नियोगमा इन्टरनेटमार्फत ई–सेन्सस प्रविधिबाट तथ्यांक संकलन गरिनेछ ।

विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले कोभिड—१९ का कारण जनगणनाको काम प्रभावित नभएको बताए। प्रचार, प्रशिक्षणलगायत अन्य आवश्यक जनगणना सामग्रीको छपाइ तथा खरिद प्रक्रिया भइरहेको उनले जानकारी दिए ।

चौलागाईंका अनुसार जनगणनामा करिब ६० हजार कर्मचारी परिचालन हुनेछन् । जसमा ४२ हजार गणक र १० हजार सुपरिवेक्षक खटिनेछन् ।

विभागको केन्द्रीय टोली तथा संघ प्रदेश, जिल्ला र स्थानीयमा छुट्टै संयन्त्र पनि हुनेछन् । माघमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने विभागको कार्यतालिका छ । ती प्रशिक्षकले प्रदेश र स्थानीय तहमा तालिम दिन्छन् ।

गणकलाई वैशाखमा तालिम दिने तयारी रहेको चौलागाईंले बताए । ‘हामीलाई सबैभन्दा ठूलो चटारो नै तालिममा छ’, उनले भने, ‘यति धेरैलाई तालिम दिनुपर्छ ।’

अहिले प्रश्नावली छाप्ने काम भइरहेको छ । सात प्रदेश र ७ सय ५३ वटै स्थानीय तहका फरकफरक विवरण राख्न करिब ८० प्रश्नावली बनाइएको छ ।

यस पटक तीन किसिमका प्रश्नावली छन् । विगतमा दुई किसिमका प्रश्नावली मात्रै थिए। वडास्तरसम्मै संकलन गर्नु भएको भएको सामुदायिक प्रश्नावली थप गरिएको छ ।

पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन् । यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ ।

मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन् । यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ । जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ ।

अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ।

‘अहिलेसम्म नेपालमा कति गाउँ, कति सहर छन् भन्ने अलमल नै छ । यसकारण गाउँ, सहर छुट्ट्याउने किसिमका प्रश्नावली छन्’, चौलागाईंले भने । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।