विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।
कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ ।
सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ ।
केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् ।
काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।
सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ ।
यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।