कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता सात महिनामै त्यसकै हाराहारी पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत २०७६ चैतदेखि २०७७ असोजसम्म एक अर्ब ८२ करोड रुपियाँ ब्यान्डविथ आयातमा खर्च भएको छ । कोरोना सङ्क्रमणका नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण भर्चुअल गतिविधि बढेको समय पनि यही नै हो ।
जब कि २०७५ चैतदेखि २०७६ असोजसम्म ब्यान्डविथ आयातबापत एक अर्ब १० करोड रुपियाँ नेपालबाट बाहिरिएको छ अर्थात् कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ आयातबापत करिब ७५ करोड रुपियाँ बढी रकम बाहिरिएको तथ्याङ्कले देखाउँछ ।
कोरोना सङ्क्रमणकै बीच गत असारमा त एकै महिना करिब ६१ करोड रुपियाँको ब्यान्डविथ आयात भएको देखिन्छ । असोजमा मात्रै करिब ४३ करोड रुपियाँको ब्यान्डविथ आयात भएको तथ्याङ्कले देखाउँछ । चैतदेखि असोजसम्म प्रायः सबै महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ब्यान्डविथ आयात बढेकै देखिन्छ ।
सुबिसु केवलनेटका प्रमुख कार्यकारी अधिकृत विनय साउदका अनुसार कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ प्रयोग नै ३५ प्रतिशतले बढेको र सँगै नयाँ ग्राहक पनि थपिने क्रम बढ्दा आयातबापत बाहिरिने रकम बढेको छ ।
उहाँका अनुसार खासगरी टिकटकको अधिक प्रयोगले पनि ब्यान्डविथका लागि धेरै खर्च बढेको थियो । “अहिले पनि हाम्रै कम्पनीले मासिक ७० लाखभन्दा बढी यस्तै कन्टेन्टको ब्यान्डविथका लागि खर्चिनुपरेको छ,” उहाँले भन्नुभयो ।
निषेधाज्ञाका कारण घरमै बस्नुपर्ने बाध्यताबीच युट्युब, टिकटकजस्ता भिडियो कन्टेन्टको अत्यधिक प्रयोग हुँदा इन्टरनेट ट्राफिक बढेपछि सेवा प्रदायकहरूले सकेसम्म कम भिडियो प्रयोग गर्न आग्रह नै गर्नुपरेको थियो ।
यसबाहेक अनलाइनबाटै पढाइ, बैठक र कार्यालयका कामसमेत हुन थालेपछि इन्टरनेट ब्यान्डविथ आयात बढाउनुपर्ने बाध्यता सेवा प्रदायकलाई थियो । यसबाहेक पब्जीलगायतका भिडियो गेमको अधिक प्रयोगले पनि ब्यान्डविथ व्यवस्थापनमा इन्टरनेट सेवा प्रदायकलाई चाप परेको थियो ।
अधिक अनलाइन गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथ मात्र होइन मोबाइल र ल्यापटपको आयात पनि अत्यधिक बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागकै पछिल्लो तथ्याङ्कअनुसार मङ्सिरसम्म १७ अर्ब ६५ करोड रुपियाँ बराबरको २७ लाख ७३ हजार थान मोबाइल आयात भएको छ ।
नेपालले यो अवधिसम्म धेरै आयात गरेका वस्तुमध्ये डिजेल र स्टिलपछि मोबाइल तेस्रो स्थानमा छ । त्यस्तै समीक्षा अवधिसम्म दुई अर्ब ६० करोड रुपियाँको ल्यापटप आयात भएको तथ्याङ्कले देखाउँछ ।
नेपालले भारतबाट इन्टरनेटका लागि आवश्यक यस्तो ब्यान्डविथ खरिद गर्दै आएको छ । चीनबाट पनि ब्यान्डविथ ल्याउन आवश्यक पूर्वाधार तयार भइसके पनि त्यो एकदमै न्यून छ । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भिœयाउने मुख्य सेवा प्रदायक हुन् ।
यी कम्पनीले ब्यान्डविथ आयात गरेर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । ब्यान्डविथ आयातका लागि सेवा प्रदायकहरूले दूरसञ्चार प्राधिकरणसँग सिफारिसका लागि अनुमति लिनुपर्ने हुन्छ । प्राधिकरणले गरेको सिफारिसका आधारमा नेपाल राष्ट्र बैङ्कले आयातका लागि अनुमति प्रदान गर्छ।
स्रोतः गोरखापत्र अनलाइन