कीवर्डहरू -

सरकार मातहत ल्याइदैं ‘डट एनपी’ डोमेन

सरकार मातहत ल्याइदैं ‘डट एनपी’ डोमेन

डट एनपी डोमेन सरकार मातहत ल्याइने भएको छ । हाल नीजी कम्पनी मर्कन्टायल कम्युनिकेसन प्रालिले व्यवस्थापन गर्दैं आएको डट एनपी डोमेन अब सरकार मातहत ल्याउने तयारी भएको हो ।

इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम एण्ड नम्बर्स (आईक्यान) ले नेपालको नाममा डट एनपी (.np) डोमेन छुट्याएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसअघि एनपी डोमेन नियमन तथा व्यवस्थाप गर्ने गरी आवश्यक राय सुझाव दिन सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सो समितिले बुधबार अर्थात आज मन्त्रालयलाई सुझाव बुझाउने तयारी गरेको छ । समितिले तीन फरक मोडालिटीमा एनपी डोमेन ब्यवस्थापन गर्ने गरी सुझाब दिएको छ । जसमा सरकार रजिस्ट्रीको रुपमा रहने अर्थात् सरकारले नियमन गर्ने र कुनै कम्पनीलाई रजिस्ट्रेसनको जिम्मा दिन सक्नेछ ।

त्यस्तै रजिस्ट्री र रजिस्ट्रेसन दुवै काम सरकारले नै गर्न सक्ने गरी अर्को मोडालिटी पनि दिइएको छ । यसमा नियमन र रजिस्ट्रेसनको दुबै काम सरकारले नै गर्ने छ ।

तेस्रो मोडालिटीमा सरकारले नियमन र व्यवस्थापन दुवै आफैले गरे पनि सञ्चालनका लागि आउटसोर्स नियुक्त गर्न सक्ने छ ।