कीवर्डहरू -

राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य रोल्पामा शुरू

राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य रोल्पामा शुरू

रोल्पा जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण संकलन गर्ने कार्य शुरु भएको  छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले गत साउन १ गते देखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य शुरु गरेको हो ।

हालसम्म २ हजार भन्दा बढीको विवरण संकलन भएको दर्ता अपरेटर निशा रानाले जानकारी दिइन् । हाल राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण संकलन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयबाट मात्र भइरहेको छ ।

अबको केही समयपछि विवरण संकलन गर्ने कामलाई जिल्लाका विभिन्न स्थानीय तहका वडामा समेत विस्तार गर्ने योजना रहेको रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम बहादुर केसीले आइसिटी समाचारलाई बताए ।

‘राष्ट्रिय परिचयपत्र नागरिकता बनाए जस्तो पासपोर्ट बनाए जस्तो होइन । यसमा एउटाको विवरण संकलन गर्न १५-२० मिनेट मान्छे सिधैं टच हुनुपर्छ । उनले आइसिटी समाचारसँग भने, ‘तपाईको फोटो खिच्नुपर्ने हुन्छ, १० ओटा औंलाको छाप लिनुपर्ने हुन्छ, आँखाको रेटिनाको स्क्यान गर्नुपर्ने हुन्छ र व्यक्तिगत विवरण दर्ता गर्नुपर्ने हुन्छ ।’

वडा वडामा विवरण संकलन गर्ने कार्य प्रशासनको प्रत्यक्ष निगरानीमा हुनेछ । प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण दर्ता गराउन एक सूचना पनि प्रकाशित गरेको छ ।

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी कार्ड हो ।

यसलाई ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा, मतदाता परिचयपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेख लगायतका काममा प्रयोग गर्न सकिन्छ ।