कीवर्डहरू -

आविष्कार केन्द्रले बनायो घाम र बिजुली प्रयोग गरेर कृषिजन्य वस्तुहरु सुकाउन मिल्ने ड्रायर

आविष्कार केन्द्रले बनायो घाम र बिजुली प्रयोग गरेर कृषिजन्य वस्तुहरु सुकाउन मिल्ने ड्रायर

राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुहरु सुकाउने सामान (ड्रायर) बनाएको छ ।

आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनका अनुसार यो प्रविधि दक्षिण भारतमा खुबै चलेको छ ।  सो आइडिया किन्नोभेसन ट्रेडिङ प्रालिको टिमले ल्याएको हो र त्यसमा थप आइडिया लगाएर यसको विकास आविष्कार केन्द्रमा गरिएको पुनले बताए ।

यो प्रविधि किन्न चाहनेलाई वैकल्पिक उर्जाले प्रवर्द्धन केन्द्रले ५० प्रतिशतअनुदान दिने बताइएको छ । पुनका अनुसार अहिले ५० ओटा ड्रायर बनाउने योजना भएको र किन्न चाहनेले आविष्कार केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

\"\"

यो सिस्टममा पोलिकार्बोनेट भन्ने प्लास्टिकको सीट प्रयोग गरिएको हुन्छ जसले बाहिरको ताप भित्र जान दिन्छ तर भित्रको ताप बाहिर जान दिदैन । दिउसो घाम लाग्दा भित्रको ताप ५५ डिग्री सेन्टिग्रेड भन्दा माथि जान्छ ।

१००० वाट बिजुलीको हिटर लगाउने हो भने सो ड्रायर भित्र रातीको तापक्रम २५ डिग्री सेन्टिग्रेडको वरिपरी रहन्छ | भित्रको तापक्रम ६० डिग्री भन्दा बढी भयो भने र भित्र पानीको बाफ बढी भयो भने एउटा बिजुलीको कन्ट्रोलरले भित्र राखेको पंखाहरु चलाई दिन्छ । भित्रको तापक्रम कम भयो भने पनि स्वचालित रुपमा हिटर खुल्छ ।

‘हामीले काउली, मुला, गाजर, च्याउ, बेसार, किवी, अदुवा, सकरखण्ड, स्याउ, साग, जुनार, गुन्द्रुक, खुर्सानी जस्ता चिजहरु सुकाएर हेर्‍यो | ति तरकारी र फलफुलहरुलाई बाहिर खुला घाममा पनि राखेर हेरियो र सुक्ने समय पनि रेकर्ड गरियो’ पुनले भने ।

‘यसरी यो सुकाउने सामान (ड्रायर) मा सुकाउदा अधिकांस तरकारी र फलफुलहरु २ दिन र बढीमा ३ दिनमा राम्रो संग सुकेका थिए । तर बाहिर खुला घाममा सुकाउदा कम्तिमा दोब्बर समय लागेको थियो । यसरी सुकाएर त्यसमा भएको पानीको मात्रा नाप्दा ११ प्रतिशत को ओरिपरी पाइएको छ । यसमा अहिले सम्म मासुको सुकुटी बनाइएको छैन तर त्यो पनि बनाएर हेरिनेछ ।’

\"\"

‘यसरी सुकाउदा ति तरकारी र फलफुलहरुको रंग र स्वाद पनि त्यति साह्रै बदलिएको पाईएन । तर अन्य ड्रायरहरुमा र घाममा सुकाउदा भने स्वाद र रंग धेरै नै फरक पर्ने देखियो । साथै यो प्रविधि बाट सुकाउँदा त्यसमा बाहिरको धुलो र फोहरहरु पनि नमिसिने र बाहिर घाममा सुकाएको भन्दा धेरै नै सफा हुने पनि देखियो’ उनले भने ।

परीक्षणको लागी अहिलेलाई १०० वर्ग फिटको ड्रायर बनाईएको छ । यसको लगभग मूल्य २ लाख रुपैयाँ जति पर्ने अनुमान छ । घरहरुमा प्रयोग गर्नको लागी ५० वर्ग फिट सम्मको पनि बनाउने योजना छ । ठुलो साइजमा ३०० वर्ग फिट अथवा सो भन्दा ठुलो पनि बनाउन सकिने छ ।