कीवर्डहरू -

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट ईसेवाका विश्वास ढकाल सहभागी

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट ईसेवाका विश्वास ढकाल सहभागी

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट एफ्वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले सहभागीता जनाएका छन् । भारतका स्टार्टअपहरुलाई प्रवर्द्धन गर्न शनिबार ‘प्रारम्भः स्टार्टअप इन्डिया इन्टरनेसनल समिट’ आयोजना गरिएको थियो ।

सो समिटमा भारतका स्टार्टअपहरुसँगै बिमस्टेक सदस्य राष्ट्रहरुबाट समेत सहभागीता रहेको थियो । उक्त समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका स्टार्टअपहरुका लागि १ हजार करोड भारतीय रुपैयाँ बराबरको लगानी कोषको पनि घोषणा गरेका छन् ।

उक्त समिटमा एफ्वान सफ्ट तथा ईसेवाका सह संस्थापक ढकालले १७ वर्षअघि १ जनाबाट शुरू भएको कम्पनीमा अहिले ८०० भन्दा बढिले प्रत्येक्ष रुपमा रोजगारी पाएको बताएका थिए ।

‘मैले २२ वर्षको उमेरमा उद्यमशीलताको यात्रा शुरू गरेको थिए । त्यसपछि हामीले सन् २००९ मा ईसेवाको शुरुवात गरेका थियौं । जुन नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो थियो,’ उनले भने ।

‘हामीले ईसेवा सुरु गर्दा नेपालमा इन्टरनेटको पेनिटेरेसन एकदमै कम थियो । ईसेवाको पहुँच सबै सामु पुर्‍याउन हामीले एजेन्टमा आधारित सेवा शुरू गर्‍यो,’ उनले भने ‘हाल हाम्रो सेवाले देशको ५० प्रतिशत जनसंख्या ओगटेको छ । हामीसँग आज १ लाख एजेन्ट छन् ।’

ढकालले भने ‘हामी आइसिटी क्षेत्रमा धेरै कर तिर्ने कम्पनी समेत हौं । हामीले डिजिटल नेपाल मिसनमा पनि सहयोग गरिरहेका छौं । नेपालमा क्युआरमा आधारित पेमेन्ट सिस्टमको शुरूवात गर्ने हामी पहिलो कम्पनी हौं ।’

प्रविधि मार्फत जनताको जीवन सहज बनाउन तथा गाउँ र सहर बीचको डिजिटल डिभाइडलाई हटाउन समेत काम गरिरहेको विश्वास ढकालले बताए ।