कीवर्डहरू -

भर्चुअल रुपमा आयोजना भएको १४ औं इक्यान मेला सम्पन्न, मेलामा ४५ हजार सहभागी 

भर्चुअल रुपमा आयोजना भएको १४ औं इक्यान मेला सम्पन्न, मेलामा ४५ हजार सहभागी 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत्त १४ औं इक्यान मेला सम्पन्न भएको छ । कोभिडको महामारीका कारण भर्चुअलरुपमा आयोजना गरिएको यसपटकको मेलामा ४५ हजार विद्यार्थी र अभिभावक सहभागी भएको इक्यानले जानकारी दिएको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले कोभिडको समयमा उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकमा उत्पन्न कौतुलहता मेटाउन मेला सफल भएको बताए । उनका अनुसार मेलामा उल्लेख्य सहभागिताले भर्चुअल माध्यम पनि मेलाका लागि प्रभावकारी विकल्प बन्न सफल भएको छ ।

‘कोभिडका कारण यस क्षेत्रमा ठूलो असर परेको छ । तर पनि हाम्रा अगाडि अनलाइनको माध्यमबाट मेला आयोजना हुनु र विद्यार्थीहरुले पनि अनलाइनबाट कक्षा लिन सक्नछन भन्ने सन्देश पनि दिएको छ । यस अर्थमा कोभिडले निम्ताएको असरसँगै केही सकारात्मक पक्ष पनि देखिएको छ,’ उनले भने ।

मेलामा १०० भन्दा बढी इक्यानका सदस्य परामर्श दातृ संस्था, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु सहभागी थिए । मेलामा विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले उच्च शिक्षाका लागि गन्तव्य विभिन्न देशहरुले कोरोनापछि लिएको नीतिका विषयमा जानकारी प्राप्त गरेका थिए ।

साथै मेलामा विद्यार्थी तथा अभिभावकले विभिन्न देश, त्यहाँका विश्वविद्यालय तथा कलेजका साथै कोर्स, त्यसका लागि लाग्ने शुल्क, छात्रवृत्ति, भिसा प्रोसेसिङ्ग लगायतका विभिन्न जानकारी लिएका थिए ।

ईक्यानका महासचिव दिपक राज भुसालका अनुसार मेला विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछिको अवस्थाबारे समेत जानकारी गराइएको थियो ।

‘कोरोना महामारीपछिको अवस्थामा अहिले एनओसी खुलिसकेको छ, विभिन्न देशका भिसा कार्यालयहरु पनि खुलिसकेको अवस्था छ । र, विद्यार्थीहरुले कार्यालयमै आएर परामर्श लिन सक्ने अवस्था सिर्जना भएको छ । मेलाले यी लगायत यावत विषयमा स्पष्ट पार्न प्रभावकारी भूमिका खेलेको छ,’ भुसालले भने ।

मेला संयोजक बासुदेव दाहालका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई रिभाइभ गराउनका लागि सबैभन्दा जेठो र ठूलो संघ इक्यानले आफ्नो जिम्मेवारी समेत पूरा गरेको छ ।

साथै इक्यानका सदस्य संस्थाहरुलाई फेरि परामर्श क्षेत्रलाई सामान्य अवस्थामा सञ्चालन हुने अवस्था आएको जानकारी गराउन सफल भएको उनले बताए ।

भर्चुअल मेला मार्फत विद्यार्थी र अभिभावकले आफू बसेकै ठाउँबाट परामर्श लिएका थिए । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन नसक्नेहरुका लागि मोबाइल, ल्यापटप, कम्प्युटरलगायतका डिभाइसबाट लगइन गरेर जानकारी लिन सक्नु रहेको इक्यानको भनाइ छ ।

इक्यानका अनुसार यसपटकको मेलामा देशभर सञ्चालनमा रहेको इक्यानका सदस्य संस्था सहभागी थिए । मेलामा विद्यार्थीहरुले आफूले रोजेको ठाउँ अनुसारका संस्थाका बारेमा जानकारी लिन पाएका थिए ।

मेलाको व्यवस्थापन वान अप प्रालिले गरेको थियो । कम्पनीले मेलाका लागि डेडिकेटड वेबसाइट बनाएर विद्यार्थीहरुलाई परामर्श लिनका लागि सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह समेत गर्न सफल भएको छ ।

शैक्षिक मेलाको प्रिजेन्टरमा ब्रिटिस काउन्सिल थियो भने इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, अर्बिट इन्टरनेशनल एजुकेशन, क्विन्सफोर्ड कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन, सक्सेस अब्रोड स्टडी, नेप्कोम्स एजुकेशन थिए ।