नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।
कम्पनीले बिहीबार भर्चुअल प्रेस कन्फेरेन्स मार्फत् ३ अर्ब लगानीमा देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो ।
कम्पनीले २ देखि ३ वर्षमा १४ डेटा सेन्टर निर्माण गरिसक्ने जनाएको छ । कम्पनीका अनुसार काठमाडौं, भरतपुर, लेखनाथ, हेटौंडा, भक्तपुर, बुटवल, दुहाबी, बिरगंज, ढल्केबर, अत्तरिया, भैरहवा, कोहलपुर र सुर्खेतमा डेटा सेन्टर बनाइने छ ।
१४ डेटा सेन्टर मध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो हुनेछ । यो डेटा सेन्टरमा ३५० र्याक्स हुनेछन् भने टायर ३ प्रमाणीकरण सहितको हुनेछ । काठमाडौंको डेटा सेन्टरको लागि कम्पनीले जग्गा खरिद गरिसकेको छ भने भवन डिजाइनको चरणमा रहेको छ ।
वर्ल्डलिंकका सिटीओ समित जनाले काठमाडौं र भरतपुरको डेटा सेन्टरका लागि कम्पनीले जग्गा खरिद गरिसकेको र अरु प्रक्रियाकै चरणमा रहेको बताए ।
त्यस्तै काठमाडौं बाहेकका डेटा सेन्टरहरु टायर २ प्रमाणीकरण भएको हुनेछ । यी डेटा सेन्टरहरु अरु संस्थाहरुको प्रयोग गर्न सक्ने छन् ।
भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले आउँदो १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्क्योल डेटा सेन्टरले गर्ने बताए ।
त्यस्तै वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले सरकारले अगाडी सारेको डिजिटल नेपाल अवधारणालाई साकार पार्न पनि डेटा सेन्टर महत्वपूर्ण पूर्वाधार भएको बताए ।
सरकारको डिजिटल नेपाल अभियानलाई सघाउन कम्पनीले अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर निर्माण गर्न लागेको उनले जानकारी दिए ।