कीवर्डहरू -

अब डिजिटल माध्यमबाट गाडीभाडा तिर्न सकिने, फागुन १ गतेदेखि सेवा शुरु हुँदैं

अब डिजिटल माध्यमबाट गाडीभाडा तिर्न सकिने, फागुन १ गतेदेखि सेवा शुरु हुँदैं

नेपाल राष्ट्र बैंकले फिनटेक प्रालिलाई ‘यात्रा कार्ड’ सञ्चालन गर्ने अनुमतिपत्र दिएको छ । सार्वजनिक सवारीको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने कम्पनीलाई राष्ट्र बैंकले सञ्चालन अनुमति दिएको हो ।

अब कम्पनीले फागुन १ गतेदेखि उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्थाको सुरुवात गर्ने जनाएको छ । कम्पनीका अनुसार त्यसका लागि सबै तयारी पूरा भइसकेको छ ।

पहिलो चरणमा फागुन १ गतेदेखि उपत्यकामा चल्ने ७ वटा रुटमा इलेक्ट्रोनिक टिकेटिङ मेसिनको माध्यमबाट भाडा तिर्ने व्यवस्थाको सुरुवात हुनेछ ।

सो रुटमा पर्ने ३० वटा स्थानमा सो कम्पनीले अस्थायी बुथ स्थापना गरी कार्डको वितरण गर्ने, रिचार्ज गर्ने र ग्राहक सेवाको सम्बन्धमा जानकारी गराउने व्यवस्था गर्नेछ ।

उपत्यकाभित्र सञ्चालन हुने सवारीमध्ये ६ महिनाभित्र १ हजार र एक वर्षमा ५ हजार बसमा यस्तो सेवा उपलब्ध गराउने लक्ष्य सो कम्पनीले लिएको छ । कम्पनीले सेवा सुरुवात गरेका रुट प्रयोग गर्ने अधिकतम यात्रुलाई ‘यात्रा कार्ड’ वितरण जनाएको छ ।

त्यस्तै ६ महिनाभित्र अनलाइन बस टिकट बुकिङ्ग र बस ट्रयाकिङ वेभ तथा एप तयार गरी सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।

कार्ड मार्फत भाडा भुक्तानी गर्ने प्रणालीले यातायात क्षेत्रमा नयाँ युगको सुरुवात हुने र प्रविधियुक्त शहरको पहिचान कायम गर्न समेत सफल हुने विश्वास सो कम्पनीको विश्वास छ ।