कीवर्डहरू -

इसेवा र कनेक्ट आईपीएसबाट अब ट्राफिक जरिवाना तिर्न सकिने

इसेवा र कनेक्ट आईपीएसबाट अब ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।

ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस) नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भइ रियल टाइममा सम्मनधित बैंकको खातामर्फत जरिवाना रकम भुक्तानी हुने गरि प्रणालीको बिकास गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

एसएसपी भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत बचत हुनेछ ।

आजको उद्‌घाटन कार्यक्रममा सेवा प्रदायक कम्पनी ई-सेवा फोन पे प्राली र नेपाल क्लियरिङ्ग हाउस लि (कनेक्ट आईपियस) का प्रतिनिधिहरुको उपस्थितिमा महाशाखा प्रमुख एसएसपी भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरि शुभारम्भ गरिएको हो ।

ईसेवाको तर्फबाट प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आईपिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिन आवश्यक समन्वय भैरहेको महाशाखाले जनाएको छ । यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ ।

यो अनलाईन प्रबिधि ट्राफिक प्रहरी महाशाखाको लागी माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहिलाई सहज एव सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको महाशाखाले जनाएको छ ।

यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।