आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नुहोस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ ।
बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्न (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् । कोरोना महामारीका बेला मोबाइलको प्रयोग झन् बढ्यो ।
समय बिताउन होस् वा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पढ्न पनि मोबाइल प्रयोग गर्नुपर्ने अवस्था आयो ।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान बालबालिकालाई पठनपाठनसँगै व्यस्त बनाउन सहजीकरण गरे पनि एक किसिमको लत नै विकास भएको बताउँछन् ।
मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’ हुने भएकाले अभिभावकको निगरानी आवश्यक भएको उनको भनाइ छ । मोबाइलको लतले बालबालिकामा मानसिक समस्या पनि देखिने सम्भावना हुन्छ ।
मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै गएको छ । यतिसम्मकी अनलाइन गेम खेल्न घरबाट पैसा चोरी गरेका घटना समेत सार्वजनिक हुन थालेका छन् ।
अनलाइन खेल खेल्न ई–पे (टपअफ) गर्ने लत बसेको छ ।बुढानीलकण्ठस्थित एक घरबाट केही दिनअघि भएको २५ हजार रुपियाँ चोरीमा घरधनीकै छोरा संलग्न पाइयो ।
एसईईको तयारीमा जुटेको छोराले चोरी गरेको रकम अनलाइन गेममा खर्च गरिसकेको प्रमाण फेला परेपछि अभिभावक झस्किएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द ‘छोराछोरीको आनीबानीप्रति अभिभावक सचेत र सतर्क नहुँदा यस्ता घटना बढ्दै जाने बताउँछन् ।
त्यस्तै रुपन्देहीमा ‘पब्जी’ नामको अनलाइन गेम हारेका कारण आत्महत्याको प्रयास गरिरहेका एक बालकको नेपाल प्रहरीको साइबर ब्युरोले उद्धार गरेको छ । कार्टुन तथा ज्ञान दिने ‘एप्स’ र वेबसाइट भन्दा बालबालिकामा अनलाइन गेमप्रतिको आकर्षण बढी देखिन्छ ।
साइबर ब्युरो प्रवक्ता नविन्द अर्यालका अनुसार पब्जी, फ्रि–फायर, क्वाइन मास्टर, ज्याकपट म्याजिक स्लट, मोबाइल ले–जेन्ड्स र ई–फुटबललगायत ‘एप्स’ खेलको लतमा फसेका बालबालिकामा झनक्क झर्किने, रिसाउने र खेलमा भाग लिन रकम चोरीको समस्या बढी देखिन्छ ।
अनलाइन खेल निःशुल्क रूपमा खेल्न सकिन्छ तर पनि स्कोर बढाउन, लेभल (चरण) पार गर्न र क्वाइन (यूसी, डायमण्ड र गोल्ड) खरिद गर्न बिचौलिया समूहले रकम माग्ने गरेको जानकारी उहाँले दिनुभयो । रकम पनि भिजाकार्ड, ई सेवा, खल्ती र आईएमईबाट लेनदेन हुने गरेको छ ।
अनलाइन गेम एप्स प्रतिबन्ध गर्न सम्भव छैन । उनले भने, “सरोकारवाला पक्ष सचेत तथा सतर्क हुनु पर्यो । बालबालिकाको मोबाइल मोहप्रति निगरानी राख्नुपर्छ ।” भारतलगायत कतिपय मुलुकले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ ।
“पठनपाठनभन्दा मोबाइल बढी प्रयोग गर्ने, काम लगाउँदा अल्छी तथा बेवास्ता गर्ने, मोबाइल माग्दा झर्किनेजस्ता आनीबानी देखापर्नु अनलाइन खेलको कुलत हो ।
साइबर विज्ञ अर्यालले भने, “समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा जनचेतना अभियान सञ्चालन गर्छौं” ।
ई–कारोबार तथा ई–बैङ्किङ सेवा प्रदायक निकायसँग कोड (साङ्केतिक) नम्बर उल्लेख गरी हुने कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक कागजपत्र तथा अन्य सुरक्षा उपाय अवलम्बनका सम्बन्धमा छलफलको तयारी भइरहेको ब्युरोले जनाएको छ ।
सामान्यतयाः तीनदेखि १६ वर्ष उमेर समूहका बालबालिका अनलाइन खेलमा लिप्त छन् । नेपाल प्रहरीको महिला तथा बालबालिका निर्देशनालयका अनुसार अस्लील भिडियो हेर्नेको समस्या सहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ ।
कलिलै उमेरमा ‘ह्याकर’ बन्न प्रतिस्पर्धा गर्ने, केटी साथीसँगको अन्तरङ्ग तस्बिर सार्वजनिक गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने, चरित्र हत्या गर्ने र पैसाका लागि ‘बार्गेनिङ’ को समस्या किशोरकिशोरीमा भयावह बन्दै गएको छ ।
गोरखापत्र अनलाइन बाट