कीवर्डहरू -

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी, एमबीएको ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी, एमबीएको ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति

लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच शैक्षिक सहकार्यका लागि समझदारी भएको छ ।

शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जलान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसन अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजमा सञ्चालित मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीको एमबिए कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यलाई ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ ।

छात्रवृत्ति एक्यानको सिफारिसको आधारमा उपलब्ध गराइने छ । यो एमबिए कार्यक्रम वर्किब प्रोफेसनलका लागि विकेन्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विकेन्ड मोडमा विद्यार्थीहरुले शुक्रबार र शनिबार मात्रै कलेज आउनुपर्ने हुन्छ ।

शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजे सम्म कक्षा सञ्चालन हुनेछ । शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभसिर्टीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुनेछ । काठमाडौंको मैतीदेवीस्थित नेपालकै पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन
फाउन्डेसन एसिया प्यासिफिक युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो ।

लर्डबुद्धबाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले एलबिइएफलाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

एक्यान र एलबिइएफको समझदारीले हाल सिए उत्तीर्ण गरी स्नातकोत्तर अध्ययन गर्न चाहने तर त्रिभुवन विश्वविद्यालयले प्रोफेसनल कोर्सलाई दिँदै आएको समकक्षता स्थगित गरेको कारणले यस शैक्षिक सत्रमा उक्त मौका नपाउने चार्टर्ड एकाउन्टेन्टहरुलाई अध्ययनको ढोका खोलेको छ ।