करिब एक महिना अगाडि विकिपिडियाले आफ्नो २० औं वार्षिकोत्सव मनायो । नन प्रफिट संस्था विकिमिडिया फाउन्डेसनबाट सञ्चालित विकिपिडिया ल्यारी सेञ्जर र जीमी वेल्सले सन् २००१ जनवरी १५ मा स्थापना गरेका हुन् ।
विकिपिडियामा हाल २ लाख ८० हजार भन्दा बढी व्यक्तिहरु हरेक महिना एडिट (सम्पादन) गर्छन् । अमेरिकाबाट सुरु भएको विकिपिडियामा अहिले ४ करोड ५० लाख भन्दा बढी लेखहरु करिब ३०० भाषामा अवस्थित रहेका छन् ।
विकिपिडिया हरेक महिनामा १५ बिलियन पटक पढिन्छ । यसको मतलब मानिसहरु हरेक सेकेण्ड ६ हजार पटक विकिपिडिया पढ्छन् ।
गत जनवरी १५ अर्थात माघ २ गते विकिपिडियाको २० औं वार्षिकोत्सव एकजना नेपाली युवाका लागि पनि विशेष रह्यो । किनभने विकिपिडियाले आफ्नो स्थापना दिवसको अवसरमा विश्वभरबाट विकिपिडियामा योगदान पुर्याउने उत्कृष्ट १८ जनालाई फिचर गर्यो । जसमा जनकपुरका २१ वर्षिय नेपाली युवा तथा मैथिली विकिपिडियाका संस्थापक तुलसी भगतको नाम पनि समावेश थियो ।
२१ वर्षिय तुल्सी भगतलाई मैथिली विकिपिडिया निर्माणमा योगदान पुर्याएको भन्दै विकिपिडियाले उत्कृष्ट १८ मा फिचर गर्यो ।
विकिपिडयाले विश्वभरबाट मलाई उत्कृष्ट १८ योगदानकर्तामा समावेश गर्नु गर्वको कुरा भएको तुल्सी भगतले बताए । ‘आफ्नो मातृभाषा मैथिलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकियो,’ उनले आइसिटी समाचारसँग भने, ‘मैथिली भाषा अहिले लोप हुँदै गएको छ । यसको त्रियौटा स्क्रीप्ट पनि लोप हुँदै गएको छ ।’
त्रियौटा स्क्रीप्ट एकदम कमलाई मात्र थाहा भएको र आफुलाई पनि यो स्क्रीप्ट नआउने उनले जानकारी दिए । यस स्क्रीप्टलाई पुनर्जिवित गराउने आफुहरुको योजना रहेको उनले सुनाए ।
सन् २०१४ नोभेम्बर ६ मा तुल्सी भगतसँगै विजय चौरासिया, विप्लव आनन्द, पंकज देव र संजोग देवले मैथिली विकिपिडियाको सुरुवात गरेका थिए ।
उनले मैथिली विकिपिडियामा पाँचसय भन्दा बढी लेखहरु लेखिसकेका छन् । मैथिली भाषाको विकिपिडियामा अहिले ९ हजार भन्दा बढी प्रयोगकर्ता छन् ।
मैथिली विकिपिडियाको पेज भ्यूज महिनामा १३ हजार भन्दा आउने गरेको छ । त्यस्तै २५ जना मासिक सक्रिय प्रयोगकर्ताले योगदान गरिरहेका छन् । मैथिली विकिपिडियामा २ लाख भन्दा बढी एडिट भएका छन् ।
कसरी सुरु भयो मैथिली विकिपिडिया ?
तुल्सी सानै देखि राजविराज स्थित आफ्नो मामाघरमा बसेर पढ्दै आएका थिए । एसएलसी पनि उनले मामाघरमा पढेरै पास गरेका हुन् । स्थानीय दाईहरुले सन् २०१४ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा इन्फो ल्याण्ड इन्स्टिच्युटमा एउटा इभेन्ट आयोजना गरेका थिए, जसमा उनी पनि सहभागी थिए ।
उक्त इभेन्ट मार्फत अंग्रेजी भाषाको विकिपिडिया भएको तर मैथिली भाषाको विकिपिडिया नभएको भगतले थाहा पाए । त्यसपछि सन् २००८ मा नै मैथिली विकिपिडया बनाउने भनेर अरु कसैले आवेदन दिएको तथ्य उनीहरुले थाहा पाए । तर त्यो आवेदनमा कुनै पनि काम भएन र त्यसलाई होल्डमा राखिएको थियो ।
यो कुरा थाहा पाए पछि सन् २०१४ मा अमेरिकामा रहेको विकिमिडिया फाउन्डेसनको कार्यालयमा उनीहरुले अनलाइनबाट सम्पर्क गरे । त्यसपछि मैथिली विकिपिडियामा केही काम नभएको र केही काम भएपछि मात्र यसलाई सार्वजनिक गर्न सकिन्छ भन्ने कुरा विकिमिडियाबाट जवाफ आयो ।
मैथिली विकिपिडियामा काम गरेर यसलाई सार्वजनिक गर्ने कुरा उनीहरुको टिमले सोचे । त्यसपछि परीक्षणको चरणमा भगतको टिमले ३ महिनाको अवधिमा ३ हजार भन्दा बढी आर्टिकल प्रकाशन गरेपछि मात्र मैथिली विकिपिडिया सुरु भयो ।
नेपाली विकिपिडियामा पनि उत्तिकै सक्रिय
भगत नेपाली विकिपिडियामा पनि उत्तिकै सक्रिय छन् । उनले नेपाली विकिपिडियामा १२ हजार भन्दा बढी आर्टिकलहरु एडिट गरिसकेका छन् । भने ३०० भन्दा बढी आर्टिकल समेत लेखिसकेका छन् ।
उनी मैथिलीसँगै नेपाली विकिपिडियाको एडमीनको भूमिकामा छन् । एडमीन भएपछि अरू प्रयोगकर्ताहरुको एडिट चेक गर्ने काम पनि गर्ने गरेको उनी बताउछन् ।
‘कसैले लेखेको आर्टिकलमा गएर कसैले गलत मनसायले नकारात्मक कुराहरु लेखिदिएको छ भने त्यो पनि ठिक गर्ने कार्यहरु हामीले नै गर्नुपर्ने हुन्छ,’ उनी बताउछन् ‘कसैले विकिपिडियामा आफ्नो बारेमा आर्टिकल लेखेको छ भने त्यसलाई डिलिट गर्नुपर्ने हुन्छ । विकिपिडियामा प्रमोसन गर्न पाइदैन् ।’
सन् २००२ जुन ३ मा सुरु भएको नेपाली विकिपिडियामा अहिले ३० हजार भन्दा बढी आर्टिकलहरु रहेका छन् । त्यस्तै ५१ हजार भन्दा बढी रजिष्टर प्रयोगकर्ताहरु रहेका छन् ।
नेपाली विकिपिडियामा ८३ जना मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । भने ७ जना एडमीन रहेका छन् । नेपाली विकिमिडियामा हालसम्म ९ लाख भन्दा बढी एडिट भएका छन् ।
उनले हालसम्म विकिमिडिया फाउन्डेसनका विभिन्न प्रोजेक्टमा ८९ हजार भन्दा बढी एडिट गरेर योगदान गरेका छन् ।
भगतले मैथिली विकिपिडियासँगै नेपाली विकिपिडिया, विकिमिडिया कमन्स, मिडिया विकी, मेटा विकी लगायतका प्रोजेक्टमा योगदान गरिरहेका छन् । अहिले विकिमिडियाले १५ भाषामा आफ्नो प्रोजेक्टहरु सञ्चालन गरेको छ ।
उनीहरुको टिमले राजविराजमा ‘ओपन नलेज फर अल’ भन्ने नन प्रफिट संस्था खोलेको छ । यसबाट राजविराजका सरकारी विद्यालयहरुमा डिजिटाइजेनस के हो, कम्प्युटर तथा इन्फरमेसन टेक्नोलोजीको ज्ञान पनि दिदैं आएका छन् ।
साथै विकिपिडियाबाट कसरी जानकारी लिन सकिन्छ र कसरी त्यसमा जानकारी राख्न सकिन्छ भन्ने कुरा पनि सिकाइरहेको भगतले जानकारी दिए । उक्त संस्थामा उनी सूचना अधिकारीको रुपमा कार्यरत रहेका छन् ।
राजविराजबाट एसएलसी पास गरेपछि तुल्सी जनकपुरमा आएर कक्षा ११ र १२ पढे । अहिले उनी जनकपुरमै बीबीएस दोस्रो वर्षमा पढ्दै छन् । आगामी योजनाको बारेमा हामीले प्रश्न गरेपछि भगतले विकिपिडियालाई नछोड्ने बताए ।
‘बीबीएस पढेपछि बिजनेस गर्ने वा बैंकिङ क्षेत्रमा जाने योजना रहेको,’ उनी सुनाउँछन्, ‘ओपन नलेज फर अल संस्था मार्फत् सामाजिक कार्यहरु समेत गर्नेछु ।’