कीवर्डहरू -

अब च्याटबटबाटै टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो सुनाउन सकिने    

अब च्याटबटबाटै टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो सुनाउन सकिने    

नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबट सेवा शुभारम्भ गरिएको छ ।

कम्पनीको वेबसाइट खोल्नासाथ शुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्नेछ । त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबट भनेर लेखिएको हुन्छ ।

यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली÷अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत गुनासो समेत गर्न सकिन्छ ।

सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने छ ।

एनटी च्याटबट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर कम्युनिटी र इन्स्टाग्राम प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।

गत माघ २२ गते कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गरेका थिए ।