कीवर्डहरू -

व्यवसाय प्रवर्द्धनका लागि वेबसाइट ल्याउँदै सरकार

व्यवसाय प्रवर्द्धनका लागि वेबसाइट ल्याउँदै सरकार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवर्द्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रद्वारा आइतबार आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवर्द्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिइएको हो ।

स्वदेशमा उत्पादित सामग्रीलाई विदेशमा निर्यात गर्न सहज होस् भन्ने उद्देश्यका साथ सरकारले पोर्टल सञ्चालन गर्न लागेको केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोगलले जानकारी दिए । स्वदेशी उत्पादनका सामग्रीको जानकारी रहने सो पोर्टलमा वार्षिकरुपमा हुँदै आएको व्यापार घाटालगायतका विषयमा जानकारी लिन सकिने छ ।

उनले भने, ‘यो पोर्टलमार्फत व्यवसाय प्रवर्द्धन गर्न चाहनेका लागि आफ्नो उद्योगबाट उत्पादित १० वस्तुलाई निःशुल्क राख्न सकिने छ ।’

यसमा निर्यातका लागि आवश्यक जानकारीसहित उद्योग दर्ता र लगानीका विषयमा समेत जानकारी दिइने छ । पहिलोपटक चितवनबाट यसको जानकारी दिन थालिएको जनाउँदै उनले भने, ‘नेपाली उत्पादनका लागि विदेशी बजारको अवस्थाका बारेमा समेत यहाँ जानकारी दिइने छ ।’

आयात र निर्यातका विषयमा यस पोर्टलबाट जानकारी दिइने भएकाले यसले नेपालका उद्योगलाई बजारको व्यवस्थापनका लागि सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादित सामग्री विदेशी बजारमा निर्यात गर्न नसक्दा व्यापार घाटा बढेकाले सरकारले यो अनलाइन सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । निर्यातलाई प्रवर्द्धन गर्दै आयातलाई प्रतिस्थापन गर्नका लागि यो पोर्टल प्रभावकारी हुने उनको भनाइ थियो ।

उनले भने, ‘विदेशीले नेपालको उत्पादनलाई कस्तो सुविधा दिएका छन् भन्ने विषयमा जानकारी दिनु यसको महत्वपूर्ण काम रहने छ ।’ उद्योग र उद्यमीलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

उद्योग सङ्घका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रदेश नम्बर २ का अध्यक्ष नरेश दास, चेम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य सङ्घ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शङ्कर गिरी, उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले यस अनलाइनले आयातलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादनको बजार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । रासस