कीवर्डहरू -

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) ले फाल्गुन १७ गते आफ्नो तेश्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ । बेलायतको बेडफर्डशाईर विश्व विद्यालयसंग आवद्ध रहेको कलेजले काठमाडौंको होटेल म्यारिटमा एक कार्यक्रम आयोजना गरी तेश्रो दिक्षान्त समारोह मनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिंग र बिबिए बिषयसँग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए ।

साथै शिक्षा ऐन संसोधन गरी आधुनिक शिक्षा प्रणालिको विकाश गर्न एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी गराएका थिए ।

त्यस्तै  समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिच्युटका   अध्यक्ष पंकज जलानले सन् २०१७ मा स्थापित पीसीपीसीले आफुलाई आज  मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताएका थिए ।

उनले अगाडि भने, ‘नेपालमै नेपाली विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रो सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ ।’

समारोहमा अर्का वक्ता काठमान्डौं विश्वविद्यालयका उपकुलपति  प्रा.डा. भोला थापाले स्नातक तह उत्तीर्ण  गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धि प्रति आफु गौरवान्वित भएको बताएका थिए ।

समारोहका विशेष अतिथि  एवं एनबिसीसीआइका  अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलि कर्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिच्युटका कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरिवालले स्वागत मन्तव्य व्यक्त गर्दै स्नातक तह उन्निर्ण  विद्यार्थीहरु प्रति खुसी व्यक्त गर्दै आफुलाई गौरव लागेको बताएका थिए ।

पीसीपीएसले हाल कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिंग र बिजनेस एडमिनिस्ट्रेसन बिषयमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।

यसैगरी कलेजले फ्युज मसिन्ससँग साझेदारी गरी आर्टिफिसियल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।