कीवर्डहरू -

अब मोबाइल बैंकिङबाट दैनिक २ लाख सम्म कारोबार गर्न सकिने

अब मोबाइल बैंकिङबाट दैनिक २ लाख सम्म कारोबार गर्न सकिने

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीम संशोधन गरेको छ । विद्युतीय माध्यमबाट कारोबार गर्नेको संख्या वृद्धि भएसँगै राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बरले बढाएको हो ।

राष्ट्र बैंकले सीमा संसोधन गरेसँगै अब मोबाइल बैंकिङबाट प्रतिदिन दुई लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिने भएको छ ।

त्यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) बाट प्रतिदिन २० लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिने छ ।

यो भन्दा अघि मोबाइल बैंकिङबाट दैनिक १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट दैनिक १० लाख रुपैयाँ सम्म कारोबार गर्न सकिन्थ्यो ।

यो सीमा कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम ट्रान्सफर गर्दा लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतको शुल्क भुक्तानी गर्दा यो सीमा लागु हुने छैन ।

राष्ट्र बैंकका अनुसार दूरसञ्चार,विद्युत, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ता, शिक्षण संस्था, स्वास्थ्य संस्था हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारमा कारोबार गर्दा पनि यो सीमा लागु हुने छैन् ।

धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न यो सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।