कीवर्डहरू -

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । मोफसलका युवा समिर फुँयाल, निर्देश पोखरेल र कुनाल शाह मिलेर बनाएको मेरो कारोबार एप गत मंसिरमा सार्वजनिक भएको थियो ।

मेरो कारोबार एपबाट साना तथा मध्यम पसलको हिसाब किताब आफ्नो फोनमै राख्न सकिन्छ । एप बाइट केयर टेक्नोलोजी मार्फत बजारमा आएको हो ।

‘एप सार्वजनिक गर्दा हामीले यसलाई सःशुल्क बनाएका थियौं,’ बाइट केयर टेक्नोलोजीका सीईओ समिर फुँयालले भने, ‘तर अब भने मेरो कारोबार एप ग्राहकले निःशुल्क प्रयोग गर्न सक्छन् । यसबाट धेरै ग्राहक लाभान्वित हुनेछन् ।’

‘एपमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विवरण तथा पैसा सबै कुरा राख्न मिल्छ भने कसैले केही दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्छ,’ समिरले आइसिटी समाचारसँग भने ।

एपको युआई (युजर इन्टरफेस) मा समेत केही सुधार भएको छ । एपमा कारोबारको फोटो समेत अपलोड गर्न सकिने छ । एपमा आफ्नो आम्दानी र खर्च पनि ट्रयाक गर्न सकिने सुविधा थप हुन लागेको कम्पनीले जनाएको छ ।

मेरो खाता एपमा व्यक्तिगत रुपमा डिजिटल खाता बनाउन सकिने तथा लेनदेन ट्रयाक गर्न सकिने, ग्राहकको रिपोर्ट हेर्न वा डाउनलोड गर्न सकिने, पैसा जम्मा गर्न रिमाइनडर पाइने, डेटा अटोमेटिक ब्याकअप हुने, एप अनलाइन तथा अफलाइन प्रयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

कम्पनीका अनुसार अहिले मेरो कारोबार एप एन्ड्रोइड फोनमा मात्रै प्रयोग गर्न सकिने छ । गूगल प्ले स्टोरमा एप १ हजार भन्दा बढी पटक डाउनलोड भइसकेको छ । केही हप्तामै आईओएसमा समेत एप उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस् मेरो कारोबार एप

सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड फोनमा यहाँ क्लिक गरी मोबाइल एप डाउनलोड गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् र आफुलाई नेपाली वा अंग्रेजी मध्ये जुन भाषा सजिलो लाग्छ उक्त भाषा छनोट गर्नुहोस् ।

भाषा छनोट गरेपछि अगाडि बढ्नुहोस् र आफ्नो फोन नम्बर टाइप गर्नुहोस् । फोन नम्बर राखेपछि मोबाइलको म्यासेजमा एउटा ओटीपी कोड आउँछ त्यो कोड राखेर सबमिट गर्नुहोस् ।

त्यसपछि आफ्नो नाम, विजनेसको नाम, इमेल, ठेगाना तथा फोटो राखेर प्रोफाइल सेटअप गर्नुहोस् । यति गरेपछि प्लस जस्तो आइकनमा क्लिक गरेर ग्राहकको विवरण राख्न सकिने छ ।

त्यहाँ एपमा तपाईंले पाउनु पर्ने रकम र दिनुपर्ने रकम बारे पनि विस्तृत विवरण राख्न सक्नुहुनेछ । तपाईले म्यासेजको रुपमा रिमाइन्डर पनि पठाउन सक्नु हुनेछ भने उक्त विवरणलाई पीडिएफको रुपमा डाउनलोड समेत गर्न सकिने छ ।