कीवर्डहरू -

सम्पन्न भयाे आइसीटी वुमन कन्क्लेभ

सम्पन्न भयाे आइसीटी वुमन कन्क्लेभ

एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) , गल्र्स इन टेक नेपाल र एसएपी नेपालको संयुक्त आयोजनामा आइसीटी वुमन कन्क्लेभ सफलतापूर्वक सम्पन्न भएको छ ।

मार्च ७ मा महिला सशक्तिकरणका लागि यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डब्लुआईआईटीकी अध्यक्ष गुन केशरी प्रधानले गरेकी थिइन् ।

\"\"

उक्त कार्यक्रममा आईसीटी क्षेत्रमा रहको महिलाहरुको अनुभव समेटेर लेखिएको म्यागजिन पनि सार्वजनिक भएको थियो । सो म्यागजिन एसएपी नेपालकी अध्यक्ष गीता भट्टराईले सार्वजनिक गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख वक्ताको रुपमा रहेकी मेडीसफ्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रनिता उपाध्यायले डिजिटल लैङ्गिक विभेद हटाउने , आईटी सीपमा दक्षता र महिलालाई सिकाईका लागी वातावरण सिर्जना गर्न सुझाव दिएकी थिइन् ।

त्यस्तै कार्यक्रममा प्रमुख वक्ता रहेकी माइक्रोसफ्ट फर साउथइस्ट एसिया न्यू मार्केट्स इन एसिया प्यासिफिककी जनरल म्यानेजर सुक हुन चीहाले आफ्नो सफलताको कथा बताउँदै महिला प्रति रहेको संकुचित मानसिक्तालाई चुनौती दिन प्रेरित गरेकी थिइन् ।

\"\"

उनले कोभिडले डिजिटल डिभाइडलाई कम गर्न मद्दत पु¥याएको र बजारमा भएका अवसरलाई ग्रयाब गर्न सकेमा महिलाको सहभागीताले रुपान्तरण हुने सम्भावना बढ्दै जाने उनले बताइन् ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको थीम ‘चुज टू च्यालेन्ज’ मा आधारित रहेको कार्यक्रममा बोल्दै एसएपी नेपालकी अध्यक्ष गीता भट्टराईले लैङ्गिक समानताका लागी सरकारले प्राविधिक क्षेत्रमा समान पहुँचको अवसर सुनिश्चित गर्नुपर्ने बताइन् ।

यो कार्यक्रममा सोसल मिडियामा महिला, व्यवसायमा महिला, आइसीटी शिक्षामा महिला, विभिन्न निकायहरुमा महिला, आइसीटीमा महिलाका लागी उत्प्रेरणा जस्ता विषयमा राउण्ड टेबल छलफल भएको थियो ।

\"\"

कार्यक्रमको अन्तयमा जीआईटीकी प्रतिनिधि सृष्टीले विद्यार्थीहरुलाई आइसीटी क्षेत्र छान्न प्रोत्साहित गरिरहने प्रतिबद्धता जनाइन् ।

त्यस्तै डब्लुआईआईटीकी महासचिव दिवेश्वरी दलीले दुर्गम क्षेत्रका महिलाको सशक्तिकरणका लागी पनि काम गर्नुपर्ने बताइन् । कार्यक्रममा करिब ६० जना महिलाको सहभागीता रहेको थियो ।