कीवर्डहरू -

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

क्यान इन्फोटेक घोषणा कार्यक्रमको अवसर पारेर क्यान महासंघले मिडिया क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी एक अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

वरिष्ठ पत्रकार प्रतीक प्रधानले सो कार्यक्रममा किनोट वक्ताको रुपमा मिडियामा आइसीटीले पारेको प्रभावबारे प्रवचन दिएका थिए । अबको मिडिया आईसीटीको विकाससँगै अगाडि बढ्ने र नयाँ मिडियाको प्रभाव निरन्तर बढिरहने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मिडियालाई जवाफदेही बनाउनु पर्ने आवश्यकता रहेको बताए । मिडियाको दर्ता, अनुगमन र कारवाहीका लागि एक विशेष निकायको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले दूर्गम क्षेत्रमा आईसीटीको विस्तार हुन नसकेको र मिडियाको पनि त्यसतर्फ कम ध्यान गएको बताए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोना भाइरसले सिर्जना गरेका थोरै महत्वपूर्ण अवसर मध्ये सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र विस्तार भएको बताए ।

यस बिचमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन ह्वात्तै बढेको तथा डिजिटल पेमेण्टहरुको ग्राहक आधार २० देखि ४० प्रतिशसम्मले बढेको उनको भनाइ थियो ।

यो समग्र विकासले सुशासनमा मद्दत पुगेको छ । विद्युतीय सुसाशनका लागि प्रविधिको पहुँच त्यसको पहिलो शर्त हो भने प्रयोगमा सहजता दोस्रो खुड्किलो हो, उनले भने ।

भ्रष्टाचार निवारण तथा सुशासन, द्रुत तथा भरपर्दो सेवा प्रवाहका लागि ई–गभर्नेन्सको विकल्प नभए पनि नेपालको आईसीटी पूर्वाधारको अवस्था अझै पर्याप्त नभएको कुँवरले बताए ।