कीवर्डहरू -

थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने विद्युतीय गाडी बनाउँदै विद्यार्थीहरू

थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने विद्युतीय गाडी बनाउँदै विद्यार्थीहरू

थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाइरहेका छन् । विद्यार्थीहरुले सो विद्युतीय गाडी आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाइरहेका हुन् ।

अहिले गाडीको चेसिस मात्र तयार भएको छ । विद्यार्थीहरुका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ ।

‘सिरेटो’ नाम दिइएको टीमले प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनाका साथ गाडी बनाउन लागेको हो ।

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिने हुँदा सोहीअनुसार विद्यार्थीहरुले पनि तयारी गरेका हुन् ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोध कुमार घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशनको विषय पढिरहेका स्वर्णिम श्रेष्ठ राम्रो र उत्कृष्ट निर्माणमा लागि लागेका हुन् ।

यसैबीच यस कार्यका लागि गोल्छा ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको छ । गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएकाले यसमा पनि सहयोग गरेको  जनाएको छ ।