कीवर्डहरू -

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम, जहाँ शेयर तथा कम्पनी किनबेच गर्न पनि सकिन्छ

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम, जहाँ शेयर तथा कम्पनी किनबेच गर्न पनि सकिन्छ

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ आगामी अप्रिल ४ मा सार्वजनिक हुने भएको छ । २ वर्षको अध्ययन र विकास पश्चात यो गेम चैत २२ गते सार्वजनिक हुने भएको हो ।

‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ पब्जी तथा फ्री फायर जस्तो ब्याटल गेम नभएर एउटा स्ट्राटेजिक गेम हो । यो गेम पोडामाइब नेपालले डिजाइन र डेभलप गरेको हो ।

‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ २ जनाभन्दा बढीले खेल्न सकिन्छ । यसको स्टोरीलाइनलाई सन् २०३० मा सेट गरिएको छ । तेस्रो विश्वयुद्ध सकिएको र २०३० बाट चौथो विश्व युद्ध शुरू भएको कल्पना गरेर यो गेमको विकास गरिएको प्रोजेक्ट म्यानेजर अनुराधा भण्डारीले बताइन् । त्यसकारण यो गेमको नाम पनि वर्ल्ड वार फोर राखिएको उनले बताइन् ।

\"\"

तेस्रो विश्व युद्धका कारण धेरै देशको अस्तित्व समाप्त भएको, कति मर्ज भएको र त्यसपछि ८ ओटा देश मात्रै विश्वमा रहेको गेममा कल्पना गरिएको छ । सो ८ देशमा अमेरिका, बेलायत, सयुक्त यूरोप, सयुक्त मध्यपूर्व, रसिया, चिन, जापान र भारत छन् ।

‘यसको मोडलिङमा वर्क, ट्रेन, फाइट लगायतका छन् ।  वर्क मोडलिङमा प्लेयरले आफ्नो इकोनोमीलाई सन्तुलन बनाउन काम गरिरहेको हुन्छ,’ भण्डारीले भनिन् ‘ट्रेन मोडलिङमा प्लेयरले आफ्नो देशलाई जिताउन सहयोग गर्छ । यसमा दुई देशबीचको रियल ब्याटल पनि छ ।’

‘यसमा फाइट गर्दा स्वास्थ्यको कुरा पनि आउँछ । हेल्थ रिस्टोर गर्न उसले खानाहरु खान्छ,’ उनले भनिन् ‘गेममा खानाहरु पाउने बजार छ । यसमा प्रडक्ट मार्केट, मोनिटरी मार्केट, स्टक मार्केट, जब मार्केट पनि छ ।’

स्टक मार्केटबाट शेयरहरू किनबेच गर्न सक्ने भयो । किनबेचको कुराहरुमा चाहिँ निश्चित रेञ्ज तोकिएको छ । यसमा अक्सन मार्केट पनि छ । जसमा कम्पनीहरु किनबेच गर्न सकिन्छ ।

\"\"

यसमा देशको प्रेसिडेन्टको पार्ट पनि छ । उसले देशको कर, अर्थतन्त्र नियन्त्रण गर्छ । करको दर सेट गर्छ । साथै यसमा प्रेसिडेन्ट बन्नका लागि चुनाव पनि हुन्छ । पार्टीको चुनाव पनि हुन्छ ।

गेममा ४ वटा करियर राखिएको छ । जसअन्तरगत कामदार, सेना, राजनीतिज्ञ र व्यवसाय रहेका छन् । प्रत्येक करियरको आफ्नै फाइदा छ । प्लेयरले आफ्नो करियर छानेपछि आफुलाई बलियो बनाउन आफ्नो रणनीति प्रयोग गर्न सक्छन् ।

\"\"

यसमा ब्ल्याक मार्केट राखिएको छ । गेममा स्कीनहरु पनि राखिएको छ । प्लेयरहरुले आफुलाई मन परेको स्कीन खरिद गर्न सक्छन् ।

यो गेम निःशुल्क खेल्न सकिन्छ । यो गेम बच्चा तथा टिनएजलाई भन्दा पनि २५ वर्षदेखि माथिका व्यक्तिलाई लक्षित गरेर विकास गरिएको अनुराधाले बताइन् ।

यस गेममा कुनै कुनै ठाउँमा मात्रै एनिमेसन प्रयोग गरिएको छ । गेममा सबै कुरा क्याकुलेसनमै आधारित हुन्छ । गेमको डकुमेन्ट पार्टमा काम गर्न मात्रै आफुलाई तीन महिना लागेको अनुभव प्रोजेक्ट म्यानेजर भण्डारी सुनाइन् ।

यो गेमको विकासका लागि अहिले जाभा डेभलपर चुडामणी कार्की र युनिटी डेभलपर अमिर महर्जनले काम गरिरहेका छन् । गेमको ब्याकएण्ड जाभामा हो भने फ्रण्टएण्ड चाहिँ युनिटीमा विकास भएको हो ।

अहिलेसम्म यस गेमको विकास लागि ५ जना डेभलपरले काम गरिसकेका छन् । गेमको डिजाइन तथा डेभलप पोडामाइबले गरेपनि पब्लिस चाहिँ अमेरिकामा आधारित रहेको एस्ट्रिक टेक्नोलोजीले गर्नेछ ।

\"\"

वर्ल्ड वार फोर गेमको बेटा भर्सन आगामी बिहिबार सार्वजनिक हुने कम्पनीले जनाएको छ । साथै गेमको प्रि रजिष्ट्रेसन समेत खुला गरिएको छ । प्रि रजिष्ट्रेसन गर्नेले ५० गोल्ड निःशुल्क पाउने छन् ।

यो गेमको प्रि रजिष्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहोस् । हाल यो एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ । कम्प्युटरमा ब्लुस्टयाक प्रयोग गरेर यो गेम खेल्न सकिने छ । साथै केही दिनमै गेम आईओएसमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।