कीवर्डहरू -

नेपाली सामान प्रयोग गरेर बनाइएको रकेट भोलि परीक्षण हुँदै 

नेपाली सामान प्रयोग गरेर बनाइएको रकेट भोलि परीक्षण हुँदै 

शनिबार अर्थात भोलि नेपालमै पहिलो पटक रकेट परीक्षण हुने भएको छ । नेसनल इन्जिनियरिङ एण्ड एस्ट्रोनोमिकल रिसर्च सेन्टर एण्ड एरोस्पेस कम्पनी (नियर एरोस्पेस) ले नेपाली सेनासँगको सहकार्यमा धनुसाको भिमानमा रकेट परीक्षण गर्ने भएको हो ।

शनिबार साँझ ५ बजे रेकटको पहिलो चरणको परीक्षण हुनेछ । नेपालमै बनेको स्याटेलाइटलाई नेपालमै बनेको रकेटमा राखेर पठाउने योजना अनुसार शनिबार पहिलो परीक्षण गर्न लागेको प्रोजेक्ट हेड शुशिल देव भट्टराईले बताए ।

‘हामीले सन् २०२४ सम्ममा नेपालमा बनेको स्याटेलाइटलाई नेपालमै बनेको रकेटमा राखेर अन्तरिक्षमा पुर्‍याउने भनेर एउटा प्रोजेक्ट गरिरहेका छौं । २ वर्ष भयो शुरु गरेको,’ उनले आइसिटी समाचारसँग भने, ‘उक्त प्रोजेक्ट अन्तरगत नै यो पहिलो प्रोटोटाइप टेष्ट हो ।’

‘सन् २०२४ मा हामीले ठूलो साइजमा रकेट अन्तरिक्षमा पुर्‍याउँछौं । अहिले त्यसकै सानो बनाएर त्यसको सबै डायनामिक्सहरु चेक गर्नका लागि पहिलो प्रोटोटाइप परीक्षण गर्न लागेका हौं’ उनले भने ।

कम्पनीले विगत दुई वर्षदेखि रकेटको अनुसन्धान र विकासमा काम गरिरहेको छ । भने प्रोडक्सनको काम शुरू गरेको एक वर्ष भएको छ । कम्पनीले पुरै प्रोजेक्टका लागि २ देखि ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

एउटा प्रोटोटाइप बनाउँदा करिब ७-८ लाख रुपैयाँ खर्च लाग्ने भट्टराईले बताए । अहिलेका विद्यार्थीलाई साइन्स तिर लाग्न प्रेरित गरोस र त्यतातिर दिमाग चलोस भनेर रकेट बनाउने काम गरिरहेको उनले बताए ।

यसको मुख्य मोटिभ भनेको ५ वर्षभित्र नेपाललाई स्पेससँग सम्बन्धित बिजनेसमा सक्षम बनाउने रहेको भट्टराईले बताए ।

शनिबार परीक्षण हुने पहिलो रकेट २५ सय देखि ३ हजार फिट माथिसम्म पुर्‍याउने योजना रहेको छ । त्यस्तै कम्पनीले आगामी अप्रिल १६ तारिखमा पनि रकेट परिक्षण गर्दैछ ।

सो परीक्षणमा रकेट ६ किलोमिटर माथि पुर्‍याउने योजना रहेको छ । भट्टराईका अनुसार रिस्क फ्याक्टरलाई कम गर्न अहिले थौरै मात्रै माथि पठाउन लागिएको हो ।

कम्पनीले ठुलो रकेट अन्तरिक्षमा पुर्‍याउनु अगाडि २० वटा यस्तै परिक्षण गर्नेछ । सन् २०२४ मा रकेटमा राखेर स्याटेलाइट पठाउनका लागि नेपालको स्याटेलाइट बनाउने कम्पनीसँग सहकार्य गर्ने कम्पनीको योजना रहेको छ ।

‘यो पूर्णतयाः नेपाली प्रडक्ट हो । यसमा विदेशबाट मगाएको कुनै सामान पनि छैन्,’ भट्टराईले भने, ‘हामीले जस्तो ढिक्का फलामलाई कुदेर सबै सामानहरु नेपालमा बनाएका हौं । इन्जिनदेखि लिएर फ्युल सम्म सबै यही बनाएका हौं ।’