कीवर्डहरू -

कस्तो होला दश वर्षमा नेपालमा आइटीको विकास ?

कस्तो छ नेपालमा हाल आइटीको अवस्था ?

कस्तो होला दश वर्षमा नेपालमा आइटीको विकास ?

सूचना प्रविधि अर्थात आइटीको प्रयोगले हामीले दिनदिनै गर्ने कामहरु सहज भइरहेका छन् । आइटीले हरेक कामलाई सरल र सुलभमात्र बनाइरहेको छैन, देश विकासको सबैभन्दा महत्वपुर्ण टुल्सको रुपमा समाहित भइरहेको छ ।

प्रविधिको क्षेत्रमा दिनदिनै नयाँ प्रविधि आईरहेका छन् जसलाई हामिले पछ्याउन पनि मुस्किल पर्दै गइरहेको छ ।  प्रविधि भनेको एउटा यस्तो चीज हो । जुन हरेक समय परिवर्तन हुँदैं गइरहेको छ ।

त्यसकारण प्रविधिमा अबको यति वर्षमा यस्तो विकास होला भन्न त सकिन्न तर अनुमान भने गर्न सकिन्छ । हाल नेपालमा युरोप, अमेरिका, जापान तथा समृद्ध देशको जस्तो प्रविधिको उपयोग नभएपनि केही हदसम्म भइरहेको नै छ ।

सन् १९९३ मा नेपालमा पहिलोपटक इन्टरनेटको सुरुवात हुदा र अहिले ७० प्रतिशतले इन्टरनेट प्रयोग गरिरहदाको अवस्था त बिल्कुलै फरक छ ।

अबको १० वर्षमा नेपालमा सूचना प्रविधिको विकासक्रम कस्तो रहला, यसले हामिलाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा केहि रोचक परिकल्पना पनि हुनसक्छन ।

\"\"

यस्तै विषयमा प्रेसिडेन्सियल विजनेश स्कुलमा गत पुस २६ गते एक विशेष छलफल तथा प्यानल डिस्कसन सेसन सञ्चालन भएको थियो । उक्त कार्यक्रममा वत्ताहरुले अबको १० वर्षमा नेपालमा पनि प्रविधि निर्णायक तहमा पुग्ने बताए ।

सरकारले प्रविधिको इन्नोभेसन, प्रयोग र प्रवद्धनमा अहिलेदेखिनै पर्याप्त योजना र कार्यान्वयनमा ध्यान दिए आगामी १० वर्षमा हामी हरेक किसिमले प्रविधिमैत्री हुनसक्छौ ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा नेपालमा पनि प्रविधि क्षेत्रमा वदलाव आएको छ । वर्क फ्रम होमको संस्कृति विकास भएको छ । सरकारी कामहरु पनि प्रविधिमैत्री हुन थालेका छन ।

अनलाइन पेमेन्ट र इकमर्शको प्रयोगले व्यापकता पाइरहेको छ ।  सरकारले पनि आइटीलाई अहिले प्राथमिकतामा राख्न थालेको छ । २ वर्षअघि सार्वजनिक भएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सरकार अघि बढिरहेको छ ।

यसै अनुरुप सरकारले व्यक्तिको सबै विवरण तथा डकुमेन्ट मोबाइलमै समाहित गर्दै कामकाजमा पेपरलेस कन्सेप्टमा प्रयोग गर्न सकिनेगरि नागरिक एप सार्वजनिक गरेको छ ।

\"\"

आर्थिक गणना २०७४ को अन्तिम तथ्यांक अनुसार वर्षभरी सूचना तथा सञ्चार क्षेत्रको व्यापार एक खर्ब ९४ अर्ब ४ करोड रुपैयाँको देखिएको छ । जसमा बार्षिक नाफा भने ४५ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै नेपालको जीडीपीमा आइसिटी क्षेत्रको योगदान न्युन रहेको छ । भइरहेको कामहरुलाई नै व्यवस्थित नगर्दाको कारण पनि यो क्षेत्रको योगदान कम देखिरहेको अवस्था छ ।

पर्याप्त तथ्यांकको अभाव, आउटसोसिङ तथा बिपिओको कमजोर व्यवस्थापन, अन्तर्राष्ट्रिय पेमेन्ट सुविधामा कमि हुदा यो क्षेत्र अझ खुल्न नसकेको देखिन्छ ।

सूचना प्रविधिको आवश्यकता अब हरेक क्षेत्रलाई पर्छ । जनतालाई छिटो, छरितो सेवा उपलब्ध गराउन यसको जरूरी भइसकेको छ ।

भविष्यमा झन प्रविधिको उच्चतम प्रयोग हुने भएकाले आगामी दिनमा कुन कुन प्रविधि आउँछन् ती प्रविधिहरुलाई आत्मसात गर्दैं अगाडी बढ्नुपर्छ । भने इमर्जिङ प्रविधिको प्रयोग गर्न थाल्नुपर्छ र आइटीको जनचेतना गाउँगाउँ सम्म फैलाउनु पर्छ ।

कस्तो छ नेपालमा हाल आइटीको अवस्था ?

नेपालमा अहिले आइटीको अवस्था ठिकठिकै छ । आइटी प्रयोग विस्तारै बढ्न थालेको छ । सरकारी निकायहरुले पनि आइटी प्रयोग गर्न थालेका छन् ।

छिटो छरितो र भरपर्दो सेवा दिन आइटीको प्रयोग गर्नुपर्छ भन्ने कुरा सरकारी अधिकारीहरुले बुझ्न थालेका छन् । तर, प्रयोगमा व्यापकता र सहज सेवा दिने पक्षमा भने सरकारी निकाय कमजोर छ ।

\"\"

सरकारले २ वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क पनि सार्वजनिक गरेको छ । गत माघ २ गते मात्रै सरकारले डिजिटल नेपाल फ्रेमवर्क अन्तरगत ‘नागरिक एप’ सार्वजनिक गरेको छ । तर यसको सहि प्रयोग र उपलब्धिमुलक बनाउन अझ धेरै गर्न बाँकि नै छ ।

विश्व मानचित्रमा हेर्ने हो भने, आइसिटी विकास सुचीमा नेपाल १४० औ स्थानमा छ । इन्नोभेसन इन्डेक्समा नेपाल ९५ औं स्थानमा छ । इन्टरनेटको प्रयोगमा नेपाल क्रमश अघि बढिरहेपनि डिजिटल डिभाइड बढ्दो क्रममा छ ।

मोबाइल इन्टरनेट सहित ७० प्रतिशतको हाराहारीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । नेपालमा पर्याप्त तथ्यांक छैनन्, डेटा व्यवस्थापन र प्रयोगमा हामी कमजोर छौं । यसकारण देशमा आइसिटी क्षेत्रको योगदान उल्लेख गर्न मुस्किल छ ।

तर, नेपालमा कृषि, पर्यटनसँगै देश विकासमा योगदान गर्नसक्ने अर्को पक्ष आइसिटी हो भन्नेकुरामा धेरैको बुझाई छ ।

डिजिटल गर्भनेन्समा हामी अझ धेरै पछाडी नै छौं भन्ने हामीसँग भएको तथ्यांक, प्रयोग र उपयोगिताले देखाउँछ ।

नेपालमा अहिले डिजिटल पेमेन्टको प्रयोग बढ्न थालेको छ । कोरोना पछि मानिसहरुले पसल पसलमा क्युआर कोड प्रविधि राख्न थालेका छन् । बैंकहरुले पनि डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् ।

हाल बैंकहरुले अनलाइनबाटै बैंकमा खाता खोल्न सक्ने व्यवस्था गरेका छन् । बैंकमा चेक र एटीएम कार्ड नभएपनि मोबाइलबाट क्युआर कोड स्क्यान गरी पैसा झिक्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि क्युआर कोडलाई प्रवर्द्धन गरिरहेको छ । राष्ट्र बैंकले क्युआर स्ट्याण्डर्डाइजेसन फ्रेमवर्क तथा गाइडलाइन्स पनि पारित गरेको छ । अहिले नेपालमा ड्रोन, रोबोटहरुको प्रयोग बढिरहेको छ ।

कोरोना महामारीमा कोरोनाका बिरामीलाई औषधि तथा खाना पुर्‍याउने रोबोट तयार भएको थियो । यी यस्ता केहि प्रयास भएपनि समग्रमा इन्नोभेसन र डिजिटल उद्यमशिलताको अभ्यासमा हामी भर्खर बामे सर्दैछौ । यस सम्वन्धी सरकारका स्पष्ट योजना र कार्यक्रमहरुको कमि देखिन्छ ।

\"\"

नेपालमा आइटी शिक्षाको अवस्था सन्तोषजनक भएपनि गुणस्तरिय शिक्षामा कमी देखिन्छ । सन् १९९४ बाट सुरु भएको आइटी शिक्षाको लागि देशभरी ३०० बढि कलेजहरु छन र वार्षिक ६ हजारबढी विद्यार्थी ग्राजुयट हुन्छन । तर, धेरै विद्यार्थी विदेसिन्छन् । भएका विद्यार्थी पनि आइटी इन्डस्टीले खोजेअनुरुप नभएको सर्वत्र गुनासो सुनिन्छ ।

हरेक दिन नयाँ नयाँ परिवर्तन आइरहने आइटी क्षेत्रमा नेपालमा नीतिहरु भने पुराना छन् । हालसम्म आईटीका लागि भनेर दुरञ्चार नीति २०६०, सूचना तथा सञ्चार क्षेत्रको दिर्घकालिन नीति २०५९, रेडियो फ्रिक्वेन्सी सम्बन्धि नीति २०६९, ब्रोडब्याण्ड नीति २०७१, सूचना तथा सञ्चार प्रविधि नीति २०७२, क्लिनफिड नीति २०७३, साइबर सुरक्षा नीति, भूउपग्रह नीति २०७७ लगायतका नीतिहरु नेपालमा बनेका छन् ।

लामोसमयदेखि परिमार्जन हुन नसकेको दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सूचना तथा सञ्चार प्रविधि नीतिलाई सरकारले हाल परिमार्जनको तयारी गरेको छ । यी नीतिलाई एकीकृत गरी एउटै नीतिमा गाभ्ने समेत तयारी भएको छ । सरकारले साइबर सुरक्षा नीतिलाई पनि परिमार्जको तयारी गरेको छ ।

हरेक पाँच वर्षमा परिमार्जन गर्ने भनी ल्याइएको ‘दूरसञ्चार नीति २०६०’ अहिले १७ वर्षपछि पहिलो पटक परिमार्जन गर्ने तयारी भएको छ ।

सरकारले सूचना प्रविधिका ल्याएका नीति तथा नियमहरु समय अनुसार परिमार्जन गर्नु जरुरी रहेको छ । सरकारले सन् २०१९ मा डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको छ ।

आइटी विधेयक भने अझ पारित भएको छैन । इकमर्शको कार्यविधि छलफलको क्रममा छ । साइबर सेक्युरिटी पोलिसी तथा गाइडलाइन्सहरु सरकारले ल्याइरहेको छ ।

कस्ता प्रविधिको प्रयोग बढी होला अबको १० वर्षमा ?

अबका वर्षमा एआई, मसिन लर्निङ, डेटा साइन्स, क्लाउड कम्प्युटिङ लगायतका प्रविधिको प्रयोग वृद्धि हुँदैं जान्छ । नेपालमा पनि यसको प्रयोग बढ्न थाल्छ । ड्राइभर बिना नै गाडी चलाउन सक्ने प्रविधि आउँछ ।

विभिन्न कार्यालयहरुमा अब मानिसको साटो रोबोटको प्रयोग हुन थाल्छ । लागत पनि घट्ने र मानिसको जस्तो छुट्टी दिन नपरेपछि यसको प्रयोग बढ्ने नै भयो । फेरी मसिनले आफै निर्णय पनि लिन सक्छ ।

\"\"

अबका दिनमा डेटाको प्रयोग पनि बढ्दै जान्छ । २१ औं आताब्दीको खनिज तेलको रुपमा डेटालाई लिने गरिन्छ ।

यस अनुरुप डेटाको व्यवस्थापन, प्रयोग महत्वपुर्ण हुन्छ । हार्भड विश्वविद्यालयले सेमत डेटा साइन्सलाई २१ ओं शताब्दीको सेक्सीएस्ट जब भएको समेत घोषणा गरेको छ ।

त्यस्तै अबका दिनमा क्लाउड कम्प्युटिङको प्रयोग पनि बढ्दै जानेछ । साइबर सेक्युरिटी ठुलो च्यालेन्जको रुपमा हुनेछ भने क्वान्टम कम्प्युटरको प्रयोगले व्यापकता पाउने जानकारहरु बताउँछन ।

आईटीको ग्रोथका लागि सरकार र राजनीतिक नेतृत्वबाट पनि रणनैतिक योजना चाहिन्छ

मनोहर भट्टराई, आइटी विज्ञ

\"\"

अबको १० वर्षमा नेपालमा आईटीको ग्रोथ कस्तो होला भनेर भन्न त्यति सजिलो छैन् । प्रविधि दिन दिनै विकसित हुँदैं गईरहेको छ भने नयाँ नयाँ प्रविधिहरु पनि आईरहेका छन् ।

यति भन्दा भन्दै पनि प्रविधिको होराइजनमा २-४ वटा कुराहरु भइरहेका छन् । आर्टिफिसयल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, ब्लकचेन, फाइभजी र क्वान्टम कम्प्युटिङ प्रविधि ट्रेन्डमा छन् ।

यी प्रविधिहरुले अबको दश वर्षमा देशमा अवसरहरु सिर्जना गर्छन् र त्यसै अनुसार हामीले तयारी गर्नुपर्छ । उदाहरणको लागि एआई अन्तरगत पर्ने मसिन लर्निङमा अबका आउने दिनमै मैले धेरै अवसरहरु देखेको छु ।

किनकी मसिनलाई पनि सिकाउनु पर्छ । हाम्रो समाजमा र हाम्रो अर्थतन्त्रमा प्रविधिको भूमिका बढ्दै जान्छ । अबका दिनमा सेक्युरिटी अहिलेको भन्दा बढि क्रिटिकल भएर आउँछ होला ।

वयरेबल डिभाइसको खपत बढ्दै जान्छ । हामीले ह्युमन रिसोर्स कसरी सेप गर्छौं त्यसमा पनि आउँदो १० वर्षमा आइटीको ग्रोथ निर्भर रहन्छ ।

अबका दिनमा आईटीको ग्रोथका लागि सरकार र राजनीतिक नेतृत्वबाट पनि रणनैतिक योजना चाहिन्छ । एक किसिमको रोडम्याप डिजिटल नेपाल फ्रेमवर्कले समेत दिएको छ । मैले यसलाई लिभिङ डकुमेन्ट भन्छु । यसलाई पनि परिवर्तन गर्दैं लैजानु पर्छ ।

अर्को कुरा इनेबल इकोसिस्टम चाहिन्छ । प्रविधि आफै ग्रो गर्दैंन । प्रविधिले आफै अर्थपूर्ण इम्प्याक्ट ल्याउँदैन् । एउटा इकोसिस्टम भयो भने र अरु इलिमेन्ट पनि एकठाउँमा हुँदा यसले राम्रो ग्रो गर्छ । एउटा यसको राम्रो उदाहरण हो भारत । उनीहरुले इकोसिस्टम सिर्जना गरेका छन् ।

हामीसँग रिलायबल पूर्वाधार र कनेक्टिभिटी छैन् । यसमा पनि हामीले काम गर्नुपर्नेछ । अबका दिनमा विश्वव्यापी रुपमा प्रविधिको ग्रोथ कसरी हुन्छ त्यो महत्वपूर्ण छ ।

त्यसलाई ग्रहण गर्न सक्ने नेपाल भित्रका संस्थाहरु, क्यापासिटीहरु, त्यसलाई क्यापिटलाइज गर्न सक्ने ह्युमन रिसोर्सहरु र स्कीलहरु कसरी सेप गर्न सक्छौं भन्ने कुरामा अबको १० वर्षमा नेपालको आइटी ग्रोथ निर्भर रहन्छ ।

नेपालमा लोकल रुपमा अवसरहरु समेत सिर्जना हुन जरुरू छ । सरकार एउटा आइटीको ठूलो उपभोक्ता हो । त्यसकारण स्थानीय उद्योग, स्थानीय युवा, स्थानीय स्कीलहरुलाई कसरी हामीले यही नै राख्न सक्छौं र यही नै अवसरहरु सिर्जना गर्न सक्छौं ।

त्यसले पनि अबको १० वर्षमा आइटीको ग्रोथ निर्भर रहन्छ । कोरोना भाइरसले पनि प्रविधिका केही कुराहरुलाई अगाडि ल्याइदिएको छ । यसले प्रविधिको प्रयोगलाई बढाइदिएको छ ।

अबको १० वर्षमा धेरै जसो कामहरु भर्चुअल रुपमा नै हुन्छन्

अस्गर अली
आईटी सल्लाहकार, प्रधानमन्त्री केपी शर्मा ओली

\"\"

अबको १० वर्षमा सबैको हातहातमा मोबाइल हुन्छ । कुन कुन सेवाहरु मोबाइलमा आए त्यो कुरा एकजिस्ट रहन्छ भने अरू रहदैन् । अर्को कुरा अबको १० वर्षमा महिनाको ५०-१०० रुपैयाँ तिरेर अनलिमिटेड इन्टरनेट चलाउन पाइन्छ जस्तो लाग्छ ।

अबको १० वर्षमा हामीले जसलाई काम भनिरहेका छौं त्यो काम रहदैन् । जस्तै ड्राइभिङ लासेन्सको फाराम भर्ने काम, गाडीको रिन्यु गर्ने काम रहदैन्, कम्पनी दर्ता गर्ने काम रहदैन ।

१० वर्षमा मान्छेले घरमै बसेर काम गरिरहेका हुन्छन् । जसलाई अहिले हामीले काम भनेर बसिरहेका छौं ती ५० प्रतिशत भन्दा धेरै कामहरु रहदैनन् ।

अबको १० वर्षमा विभिन्न सार्वजनिक सेवाहरु हामी मोबाइल एप मार्फत नै गर्न प्रयोग गर्न सक्छौं । हामी अफिस सम्म गएर कुनैपनि काम गर्नुपर्ने हुँदैंन । अहिलेको समयमा कोरोना महामारीले गर्दा हामी धेरै काम भर्चुअल रुपमा अनलाइनबाटै गरिरहेका छौं ।

अबको १० वर्षमा झन् यो रिलायबल हुन्छ जस्तो मलाई लाग्छ । हालै हामीले सम्भव भएसम्मका सार्वजनिक सेवाहरु मोबाइल एपबाटै प्रदान गर्ने उदेश्यले नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेका छौं ।

सुरूवाती चरणमा ९ ओटा सेवाहरु यसमा समावेश भएका छन् । अबको एकवर्षमा धेरै जसो सरकारी सेवा मोबाइल प्रयोग गरेरै पाउन सक्छौं । अबको १० वर्षमा धेरै जसो कामहरु भर्चुअल रुपमा नै हुन्छन् ।

अबका दिनमा साइबर सेक्युरिटीको कुरा पनि धेरै नै क्रिटिकल हुन्छ

डा. प्रनिता उपाध्याय
सीईओ, मेडसफ्ट तथा पूर्व कार्यकारी निर्देशक, एनआइटिसी

\"\"

मेरो विचारमा पनि अबको १० वर्षमा नेपालमा वर्क फ्रम होमको चलन धेरै नै बढ्छ । अर्को कुरा अबको १० वर्षमा मान्छेले मान्छेलाई विश्वास गर्ने भन्दा पनि मान्छेले मेसिनलाई बढी विश्वास गर्छ की भन्ने लाग्छ ।

अबको १० वर्षमा मोबाइलले पनि विशेष रोल खेल्छ जस्तो लाग्छ । भविष्यमा मानिसले प्रायजसो काम मोबाइलबाटै गर्न थाल्छन् । त्यसकारण मोबाइल एप डेभल्पमेन्टमा हामीले ध्यान दिनु जरूरी छ ।

अबका दिनमा साइबर सेक्युरिटीको कुरा पनि धेरै नै क्रिटिकल हुन्छ । जहाँ हामीले डिजिटल पेमेन्टको कुरा गरिरहेका हुन्छौं त्यहाँ सेक्युरिटीको कुरा पनि जोडिन्छ । त्यसकारण हामीले साइबर सेक्युरिटीमा राम्रो तयारी गरेर अगाडी बढ्नु जरूरी छ ।

त्यसैगरी पूर्वाधारमा पनि धेरै नै परिवर्तन आउँछ । हामीले आइटीको लागि गुणस्तरिय पूर्वाधार पनि निर्माण गर्नुपर्छ । झन संकटको समयमा प्रविधिको आवश्यकता कति हुँदो रहेछ भनेर कोरोना भाइरसले देखाइदिएको छ ।

अबको १० वर्षमा डिजिटल नेपालको सपना साकार हुनेछ

अनिल कुमार दत्त
सह सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

\"\"

अबको १० वर्षमा इ गभर्नेन्सको कार्यान्वयन हुनेछ । धेरै जसो सरकारी कामहरु हामीले घरमै बसेर गर्न सक्छौं । सरकारी राजस्व हामीले मोबाइलबाटै भुक्तानी गर्न सक्नेछौं ।

हाल डिजिटल नेपाल फ्रेमवर्कमा भएका केही प्रोजेक्ट अगाडी बढिसकेका छन् । अबको १० वर्षमा डिजिटल नेपाल फ्रेमवर्क समेत कार्यान्वयन हुनेछ र डिजिटल नेपालको सपना साकार हुनेछ । अबको १० वर्षमा सूचना प्रविधिसँग सम्बन्धित नीति नियमहरुमा पनि परिवर्तन आउनेछन् ।

अहिले हामीले टेलिकम पोलिसी, ब्रोडब्याण्ड पोलिसी र आइसिटी पोलिसीलाई रिभ्यू गरेर नयाँ ड्राफ्ट गर्ने चरणमा छौं ।

हामी सबैलाई थाहा आईटी क्षेत्रमा परिवर्तन एकदमै छिटो आउँछ । त्यसैले सरकारका निति नियमहरु पनि परिवर्तन हुन जरुरी छ ।

साथै हामीले अहिले साइबर सेक्युरिटीको पोलिसी पनि ड्राफ्ट गरिरहेका छौं । नयाँ पोलिसी ड्राफ्ट भइसकेपछि परामर्शको लागि त्यो सार्वजनिक रुपमा उपलब्ध हुन्छ ।

अहिलेको डिमाण्डलाई पुरा गर्ने हिसाबले पोलिसीहरु ड्राफ्ट हुनेछन् । यो आर्थिक वर्षमा देशभरका प्रत्येक वडा वडामा ब्रोडब्याण्ड इन्टरनेट पुग्नेछ । देशभर इन्टरनेट पु¥याउन हामीले काम गरिरहेका छौं ।

सबै सार्वजनिक सेवाहरु एपबाटै दिन मिल्ने गरी हामीले हालै नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेका छौं । समग्रमा भन्नुपर्दा अबको १० वर्षमा सरकारबाट प्रदान गरिने धेरैजसो सेवा डिजिटल रुपमा हुनेछन् । घरबाटै सरकारी सेवाहरु लिन सकिने छ ।

अबको १० वर्षमा आइटीले सबै क्षेत्रको नेतृत्व लिनेछ

लक्ष्मण केसी
कार्यकारी निर्देशक, प्रेसिडेन्सियल बिजनेश स्कुल

\"\"

अहिले हामी प्रविधिको क्षेत्रमा बामे सदैछौं । आगामी वर्षहरुमा प्रविधिले अन्य क्षेत्रलाई डोर्‍याउछ जस्तो लाग्छ । अहिले बिजनेशको एउटा भागजस्तो रहेको आइटीले अब सबै प्रकारका बिजनेश र सेवालाई समाहित गराउनेछ ।

विभिन्न इमिर्जिङ प्रविधिहरु र त्यसले मानिसलाई थप सहज जिवनशैलीमा रुपान्तरण गर्नेछ । नेपालको सन्दर्भमा सरकारको योजना र कार्यान्वयनमा पनि ग्रोथ निर्भर गर्दछ तर समग्रमा प्रविधिको क्षेत्र फराकिलो बन्दै गइरहनेछ ।

डिजिटल इकोनोमिमा केन्द्रीत हुनेछ

हेमपाल श्रेष्ठ
नलेज म्यानेज्मेन्ट स्पेसियलिस्ट

\"\"

आइटीले ज्ञानमा आधारित समाज निमार्ण गर्न सघाउ पुर्याउनेछ । आगामी वर्षहरु प्रविधि क्षेत्रको विकासक्रम अझ अघि बढ्ने निश्चित नै छ ।

फाइजी, सिक्स जी जस्ता कम्युनिकेशन प्रविधिहरुले संसार अझ कनेक्टेड हुनेछ । डिजिटल इकोनोमिमा हाम्रो ध्यान केन्द्रीत रहने छ ।

यो रिपोर्ट लिभिङ विथ आइसिटी म्यागजिनको फागुन अंकमा प्रकाशन भएको थियो । म्यागजिन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस ।