कीवर्डहरू -

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरेका थिए । यो सँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताएका थिए । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने समेत बताए ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी  निर्देशक  भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए ।

कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताएका थिए ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताए ।

उनले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवर्द्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप मार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।

फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।