कीवर्डहरू -

नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपलाई लगानी जुटाइदिने

नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपलाई लगानी जुटाइदिने

नेपाल उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाइदिने भएको छ । महासंघको हालै गठन भएको स्टार्टअप एण्ड इनोभेसन समितिले ५० स्टार्टअप छनोट गर्नेछ ।

स्टार्टअप छनोटका लागि महासंघले आवेदन खुला गर्नेछ । त्यसपछि आवेदनलाई प्रतिस्पर्धा गराई ५० स्टार्टअप छनोट गरिने छ । छनोटमा परेका स्टार्टअपलाई समितिले जनाएको लगानी जुटाइ दिनेछ ।

स्टार्टअप छनोटका लागि चैत तेस्रो साताबाट आवेदन खुल्ला हुनेछ । आवेदन दिन चाहने स्टार्टअप वा उद्योग व्यवसायहरु कम्तीमा एक वर्ष सञ्चालनमा रहेको हुनुपर्नेछ भने एक वर्षको अडिट गरेको हुनुपर्ने छ ।

समितिले मे महिनाको दोस्रो हप्तासम्म प्राप्त आवेदनबाट पहिलो सूची तयार पार्नेछ । मे महिनाको अन्तिम हप्ता अन्तर्वार्ता र जुनको दोस्रो हप्ता छनोट भएका ५० स्टार्टअपको अन्तिम सूची सार्वजनिक गरिने बताइएको छ ।

त्यस्तै छनोट भएका स्टार्टअप वा व्यवसायहरुलाई लगानीकर्तामाझ पुर्‍याउन जुलाईदेखि तीन महिनाको मेन्टरशिप उपलब्ध गराइने छ ।

उक्त स्टार्टअपलाई अनिल चित्रकार, ओमराज भण्डारी, सौरभ ज्याति, पशुपति मुरारका, आशुतोष तिवारी, रन्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, अमति अग्रवालले मेन्टरशिप प्रदान गर्नेछन् ।

साथै विश्वास ढकाल, दीलिप अग्रवाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगारिया, गगन प्रधान, निरन्जन श्रेष्ठ, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र संजय गोल्छाले मेन्टरशिप प्रदान गर्नेछन् ।

त्यसैगरी केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप तथा व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट २० मेन्टर उपलब्ध गराइनेछ ।

मेन्टरशिप प्रदान गरिएका स्टार्टअप तथा व्यवसायलाई अक्टोबरको पहिलो साता पिचिङका लागि समय दिइने छ ।