कीवर्डहरू -

उपत्यकाका थप २ स्थानमा ट्राफिक लाइट

उपत्यकाका थप २ स्थानमा ट्राफिक लाइट

महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड बीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाइट जडान गरी सोमबारदेखि सञ्चालनमा आएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सिइओ सन्तोष कोईरालाले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए ।

प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्ने प्रयासरत छौ, यसको लागी सडक बिभाग बाहेक स्थानिय निकाय, बिभिन्न बैंक बित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं ।

त्यसैको परिणाम स्वरुप सोमबार लाइट जडान भएको छ र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका सिइओ कोईरालाले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताए ।

उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

साथै कोईरालाले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भुमिकाको प्रशंसा गरे ।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका सिइओ, डाइरेक्टर, काठमाडौं महानगरपालिका-२ र ३ का वडा अध्यक्ष, बैंकका पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सोमबारबाट शुरु भएका २ वटा ट्राफिक लाइट समेत गरि महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३१ वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्न शुरु गरेको छ ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।