कीवर्डहरू -

राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा काठमाडौं बाहिरका ५ ठाउँमा, यसरी गर्नुहोस् प्रयोग

राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा काठमाडौं बाहिरका ५ ठाउँमा, यसरी गर्नुहोस् प्रयोग

काठमान्डौंमा दिन प्रतिदिन लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा काठमाडौं बाहिर पनि शुरु भएको छ । गाडीको सेवा चैत १६ गतेदेखि बुटवल, पोखरा, नारायणगढ, झापा र धरानमा पनि एकैपटक सुरु भएको हो ।

यात्रुलाई एक ठाउँ देखि अर्को ठाउँसम्म पुग्न सस्तो,सुरक्षित र भरपर्दो हुने र बेरोजगार युवा-युवतीको लागि थोरै लगानीमै आम्दानीको नयाँ बाटो समेत खोलिने भएकोले गर्दा यो एप काठमाण्डौंमा जस्तै अन्य जिल्लामा समेत उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

गाडी एपमा यसरी बन्नुहोस् राइडर

राइडर बन्न शुरूमा यहाँ क्लिक गरी एन्ड्रोइडमा गाडी एप डाउनलोड गर्नुहोस् । अब रजिस्टरमा जानुहोस् र आफ्नो ई-मेल, नाम, मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुहोस् । त्यसपछि तपाईंको आफनो नागरिकता, लाईसेन्स र आफ्नो गाडी वा बाईकको ब्लुबुकको फोटो खिचेर अपलोड गर्नुहोस् ।

यति गरेपछि त्यो अकाउन्टलाई गाडी एपको टिमले चेक गर्नेछ । यदि सबै विवरण ठिक भए तपाईंको अकाउन्ट खुल्नेछ र त्यसलाई प्रयोग गर्न मिल्नेछ । अकाउन्ट अप्रुभ भएपछि तपाईंले गाडी एपलाई इसेवा अथवा खल्ती मार्फत २०० रूपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ ।

त्यो डिपोजिट गर्दा ५० रूपैयाँ थप बोनस सहित २५० रूपैयाँ तपाईंको गाडी पार्टनर एपको वालेटमा आउनेछ । प्रत्येक राईडको भाडा जति उठ्छ, त्यसको ८ प्रतिशत त्यही वालेट देखि कट्दै जानेछ जुन गाडी पार्टनर एपको सेवा शुल्क समेत रहेको छ ।

फेरी वालेटमा जिरो भएपछि पुन सोही तरिकाले रिचार्ज गर्नुपर्ने हुन्छ । यो एपमा बाईक, स्कुटर, ट्याक्सी, अटो र स्कर्पियो रजिस्टर गर्न सकिनेछ ।

ग्राहकले यसरी प्रयोग गर्नुहोस् गाडी एप

ग्राहकले शुरूमा यहाँ क्लिक गरी आफ्नो एन्ड्रोइड फोनमा एप डाउनलोड गर्न सक्नेछन् । अब एप खोली रजिस्टर जानुहोस् र आफ्नो ई-मेल, नाम,मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुहोस् । त्यसपछि अकाउन्ट एक्टिभेट हुनेछ ।

अब तपाईंलाई जहाँ जान मन लाग्यो त्यो एपमा आफ्नो गन्तव्य लेखेर बाईक, ट्याक्सी, अटो लाई खोज्न सक्नुहुन्छ । त्यसपछि तपाईं नजिकैको गाडी पार्टनरलाई अनुरोध जानेछ ।

गाडी पार्टनरले एसेप्ट गरेपछि एक-अर्कासँग फोन अथवा म्यासेजबाट सम्पर्क गर्न सकिने छ । गाडी पार्टनर तपाईंको लोकेसन हेर्दै तपाईंलाई खोज्दै आईपुग्ने छ र आफ्नो सवारीमा बसाएर तपाईंको गन्तव्यमा पुर्याइ दिनेछ ।

त्यसपछि तपाईंहरु दुवैको एपमा कति दुरी तय गर्नुभएको हो त्यो अनुसारको भाडा देखिनेछ र त्यति भाडा तपाईंले  गाडी पार्टनरलाई दिनु पर्ने हुन्छ ।

महिलाको लागि कत्तिको सुरक्षित ?

गाडी पार्टनरसँग यात्रा गर्ने महिलाले आफ्नो विवरण आफ्ना आफन्त साथीभाईलाई निशुल्क शेयर गर्न मिल्छ । बाटोमा केही नराम्रो गरेमा उसको ३ पुस्ते विवरण कम्पनी सँग हुने भएकोले महिलालाई एकदम सुरक्षित हुने कम्पनीको दावी रहेको छ ।

सेवा शुल्क कति छ ?

बाईकको लागि पहिलो १ किलोमिटर सम्म ४० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर १५ रूपैयाँ थपिदै जानेछ । अटोको लागि पहिलो १ किलोमिटर सम्म ३० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर १५ रूपैयाँ थपिदै जानेछ ।

साथै ट्याक्सीको लागि पहिलो १ किलोमिटर सम्म ६० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर ५० रूपैयाँ थपिदै जानेछ ।अहिलेलाई एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएको गाडी एप चाँडै नै आईओएसमा आउने बताईएको छ ।