सामान्यतयाः १६-१७ वर्षको उमेर भनेको विद्यालय जाने, पढ्ने, साथीभाइसँग रमाइलो गर्ने उमेर हो । तर सबैको हकमा यो लागु हुँदैन् । कसैले १६-१७ वर्षको उमेरमै आफुलाई अब्बल साबित गरिसकेका हुन्छन् । तर यस्ता व्यक्ति एकदम कमै हुन्छन् ।
त्यस्तै कमै मध्येका एक हुन् भक्तपुरका १७ वर्षिय कोविद पन्थी । उमेर एउटा गणितीय अंक मात्रै हो र मिहिनेत गरेपछि सानैमा पनि सफल हुन सकिन्छ भन्ने कुरा उनले साबित गरिसकेका छन् ।
यति सानो उमेरमा उनले देश विदेशका विभिन्न कम्पनीमा काम गरिसकेका छन् । भने आफ्नो कम्पनी समेत स्थापना गरेका छन् ।
कक्षा ११ सम्म मात्र विद्यालय पढेका कोविद त्यसपछि कहिलै पढ्नलाई विद्यालय गएका छैनन् । उनले आफुलाई आवश्यक पर्ने विभिन्न कुराहरुको बारेमा सेल्फ स्टडी गर्छन् । उनी सन् २०१८ मा ग्लोकल २०-२० मा समेत पर्न सफल भएका थिए ।
सन् २०१९ मा आईबीएम च्याम्पियन भएका उनले आफ्नो यात्रा प्रोग्रामिङबाट शुरू गरेका थिए । उनी प्रोग्रामर मात्र नभएर कपीराइटर, उद्यमी, एजुकेटर समेत हुन् ।
उनले अहिलेसम्म अमेरिका, न्युजिल्याण्ड, बंगलादेश र भारतको भम्रण गरिसकेका छन् । भविष्यमा युवापुस्ता माझ इम्प्याक्ट पर्ने खालको काम गर्ने योजना रहेको कोविडले बताए ।
उनी स्पीकरको रूपमा वर्डक्याम्प, नेपाल इन्जिनियरिङ एशोसिएसन लगायतमा समेत सहभागी भइसकेका छन् ।
गाडी भाडा बचत गरेर प्रोग्रामिङ
कोविद कक्षा ६ मा पढ्दै थिए । कक्षा ६ मा पढ्दै गर्दा कम्प्युटर विषयमा एचटिएमएलको लेसन थियो । उनलाई कम्प्युटरमा पहिले देखि रूची थियो ।
एचटिएमएल ल्याङवेज भनेपछि उनलाई लाग्यो अंग्रेजी नेपाली जस्तै बोल्ने भाषा होला, कम्प्युटरको भाषा होला । त्यसपछि उनमा त्यो भाषा कसरी बोल्ने होला भनेर उत्सुकता जाग्यो ।
उनले आफ्नो टिचरलाई एचटिएमएल कसरी लेख्ने भनेर सोधे । तर उनले टिचरबाट तिमी माथिल्लो कक्षा ८,९ मा सिक्छौं भन्ने जवाफ पाए ।
टिचरको उक्त जवाफ आफ्नो लागि इनकरेज र सकारात्मक इख भएको कोविद सुनाउँछन् । त्यसपछि माथिल्लो कक्षामै किन ? अहिले नै किन सिक्न सकिदैन् भनेर उनले आफैलाई प्रश्न गरे । त्यो समयमा उनी ११-१२ वर्षको थिए । उनको घरमा एउटा डेक्स्टप कम्प्युटर थियो ।
‘त्यो बेला एडिएसएलको इन्टरनेट आउँथ्यो’ कोविदले भने, ‘नेपालमा इन्टरनेट भर्खर लोकप्रिय हुँदै गइरहेको थियो । मैले आमालाई घरमा इन्टरनेट जडान गर्न अनुरोध गरे । तर त्यो बेला हाम्रो परिवारको इन्टरनेट राख्न सक्ने अवस्था थिएन् ।’
‘मलाई आमाले गाडी भाडाका लागि दैनिक ५ रूपैयाँ दिनुहुन्थ्यो । २ रूपैयाँ जानलाई २ रूपैयाँ आउनलाई ।’ उनी भन्छन् । सो गाडी भाडा बचत गर्नलाई उनी हिडेर विद्यालय जान र आउन थाले । उनले दैनिक गाडी भाडा बचत गर्दा हप्तामा जम्मा ३५ रूपैयाँ बचत हुन्थ्यो ।
प्रत्येक शनिबार एक हप्ताभरि जम्मा गरेको ३५ रूपैयाँले साइबरमा गएर एक घण्टा एचटिएमएल ल्याङवेज सिक्न थाले । त्यसरी साइबरमा गएर प्रोग्रामिङ सिक्न थालेपछि परिवारले पनि घरमा इन्टरनेट जडान गरेको उनी बताउँछन् ।
‘शुरूका दिनमा आफ्नो आमा बुबाको साथ नभएपनि अहिले पूर्ण रूपमा साथ सहयोग रहेको छ । मेरो एकजना टिचर हुनुहुन्थ्यो । उहाँको नाम राज कँडेल थियो । उहाँले मेरो बारेमा थाहा पाउनु भयो र मेरो आमा बुबालाई उसले यो काम गर्दै छ कुनै चिन्ता गर्नुपर्दैन भन्नुभयो । त्यसपछि मेरो आमा बुबाको माइन्डसेट पुरै परिवर्तन भयो ।’ उनले आइसिटी सामाचारसँग भने ।
राज कँडेलले आफ्नो आमाबुबालाई सम्झाएपछि कहिलै पछाडि फर्कन नपरेको र आमा बुबाको पूर्ण सहयोग रहेको उनी बताउँछन् । राज कँडेल उनको पहिलो मेन्टर समेत हुन् ।
प्रोग्रामिङ सिकेपछि उनले धेरै प्रोजेक्टमा काम गरे । उनले टेकसमाज नामक टेक फोरम पनि बनाए । तर अहिले त्यो सञ्चालनमा छैन् ।
उनले होटेलहरुका लागि मेसिन लर्निङ प्रयोग गरेर एसएमएस च्याटबट पनि बनाएका थिए । उनले पूर्ण रूपमा ४ वर्ष डेभलपमेन्टमा काम गरे भने ६ वर्ष प्रोग्रामिङमा काम गरे ।
अमेजनको बेस्ट सेलिङ सूचीमा किताब
उनी प्रोग्रामर मात्रै होइनन् उनी लेखक पनि हुन् । उनले लेखेको ‘पाइथन प्रोग्रामिङ हिरो’ किताब अमेजनको बेस्ट सेलिङ सूचीमा पर्न सफल भएको छ । यो किताब लेख्दा उनी कक्षा १० मा पढ्दै थिए ।
उनी कक्षा १० मा पढ्दा उनी लास्ट बेञ्चको कुनामा बसे र एउटा पेन र डायरी लिएर लेख्न थाले ।
‘त्यतिखेर सम्म के लेख्ने, कसरी लेख्ने मलाई थाहा थिएन् । तर म लेख्छु भन्ने एउटा दृढ विश्वास थियो । त्यसपछि म लेख्न थाले । टिचरले हेर्दा पनि पढिरहेको जस्तो देखिने । त्यसरी मैले किताब लेखे’ उनी भन्छन् ।
उनले पाइथन प्रोग्रामिङ हिरो किताब २ महिनामा लेखेका हुन् । एसईईको फाइनल परीक्षा आउन ४ महिना बाँकी थियो । उक्त समयलाई सदुपयोग गर्दै उनले २ महिनामा किताब लेखे ।
नेपालमा किताब प्रकाशित गर्न उनले धेरै पब्लिसर्सलाई खोजे । तर पब्लिसर्स पाएनन् । त्यसपछि के गर्ने होला भनेर उनलाई कौतुहल भयो र उनले अमेजनको बारेमा थाहा पाए । त्यो थाहा पाएपछि उनले अमेजनलाई एउटा इमेल लेखे । उनको किताब अमेजनबाट २० हजार भन्दा बढी बिक्री भइसकेको छ ।
उनको किताबमा पाइथनको बेसिक देखि एडभान्स सम्मका कुराहरु समेटिएका छन् भने किताबमा लिडरसीप र कम्युनिकेसनको बारेमा पनि लेखिएको छ । अमेजनबाट किताबको हार्ड कपी वा सफ्ट कपी खरिद गर्न सकिन्छ ।
नेपालमा सो किताब ल्याउन चाहेको तर कानूनी झमेलाका कारण नेपाल ल्याउन नसकेको उनी बताउँछन् । उनले उक्त किताब विक्री वापत अमेजनबाट केही प्रतिशत कमिसन पाउँछन् । यो किताबमा उनको प्रोग्रामिङ जर्नीका विविध कुराहरु समावेश भएका छन् ।
प्रोग्रामिङ छाडेर कपीराइटिङमा
मार्केटिङ र बिजनेसमा अवसरहरु अलि बढी देखेर प्रोग्रामिङ छाडेर कपीराइटर तिर आकर्षित भएको कोविद बताउँछन् । उनले प्रोग्रामिङलाई छाडेका भने छैनन् ।
उनले प्रोग्रामिङ पढाउँछन् । जसमा धेरै विद्यार्थी अमेरिकाबाट छन् । ‘मेरो जरो भनेकै प्रोग्रामिङ हो । त्यसैले म प्रोग्रामिङलाई छोडन सक्दिन्न’ उनले भने ।
उनी भन्छन् ‘मार्केटिङ र बिजनेस मेरो डिएनएमै छ जस्तो लाग्छ र त्यही भएर म कपीराइटरमा आए ।’
नेपालको पहिलो आईबीएम च्याम्पियन
आईबीएम च्याम्पिन भनेको आईबीएमको एउटा कम्युनिटी हो । यो हरेक वर्ष आयोजना हुन्छ । यसमा भिजिनरी, लिडरसीप, एजुकेटर, समुदायमा सहयोग गरेका मान्छे छनोट हुन्छन् ।
कोविद सन् २०१९ को आईबीएम च्याम्पियन हुन् । उनी अहिलेसम्मको नेपालको एकमात्र आईबीएम च्याम्पिएन हुन् । उनी आफै एप्लिकेसन दिएर आईबीएम च्याम्पियन भने भएका होइनन् । यसको पछाडि पनि गज्जबको कहानी छ ।
‘मैले अमेरिकाका विद्यार्थीहरुलाई प्रोग्रामिङ पढाउँथे । मेरो एक जना विद्यार्थीले मेरो टिचरले राम्रो पढाउनुहुन्छ भनेर आईबीएम च्याम्पियनमा भनेछ । त्यसपछि मलाई एकैपटक तपाई आईबीएस च्यापियन हुनुभयो भनेर इमेल आयो’ पन्थीले भने ।
एकछिन त उनी अच्चममा परे । त्यो इमेल आएको दिन उनको जन्मदिन समेत परेको थियो ।
३५ जनालाई रोजगारी
कोविद पन्थीले ३५ जनालाई रोजगारी दिएका छन् । जसमा २० जना पेडको रूपमा काम गरिरहेका छन् । भने अरूले इन्टर्नसीप र भोलेन्टियरको रूपमा काम गरिरहेका छन् ।
उनी टेक समाज वेब प्रालिको ओनर तथा प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । टेक समाज वेबले सफ्टवेयर डेभलपमेन्ट र मार्केटिङको सेवा प्रदान गर्दै आएको छ ।
‘मैले जब भनेर कहिलेपनि गरेको छैन्,’ उनले भने, ‘फ्रिल्यान्सरको रूपमा भने काम गरेको छु । कन्सलटेन्टको रूपमा काम गरेको छु । मलाई अरूको अन्डरमा बसेर काम गर्न मन पर्दैन् ।’
उनी एजुकेसनल कम्पनी ग्रेडविटका पनि ओनेर तथा सिईओ हुन् । उनले अहिलेसम्म देश विदेशका आईबीएम, ड्राइभ, सोल्टी क्राउन प्लाजा, केल्भिन स्टेट लगायतका संस्थामा काम गरेको छन् ।
कोविदले मासिक १ लाखदेखि २ लाख रूपैयाँसम्म कमाउने गरेका छन् । कोविदले अमेरिकामा समेत कम्पनी खोल्ने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय इभेन्ट आयोजना गर्दै
कोविदले सन् २०१९ मा इन्टरनेसनल युथ आन्ट्रप्रेनर टेक्नोलोजी (वाईईटी) कन्फेरेन्स आयोजना गरेका थिए । युथ, आन्ट्रप्रेनर र टेक्नोलोजी शब्द आफुलाई मन पर्ने भएका कारण कन्फेरेन्सको नाम पनि वाईईटी राखेको उनी बताउँछन् ।
उक्त इभेन्टमा नेपाल सरकारका पूर्व सह सचिव विरेन्द्र मिश्रका साथै विभिन्न देश विदेशका संस्थाको सहभागिता रहेको थियो । सन् २०२० मा भने कोरोना भाइरसका कारण यो इभेन्ट आयोजना हुन सकेन् ।
सन् २०१९ मा तीनवटा विषय युथ, आन्ट्रप्रेनर र टेक्नोलोजीबाट ३-३ जना वक्ताहरु बोलेका थिए । भने चारजनाको प्यानल डिस्कसन समेत भएको थियो ।
अन्तर्राष्ट्रिय रूपमा पनि इभेन्ट आयोजना गर्न लागेको उनले बताए । ‘मिति फिक्स भएको छैन् तर छिटै अन्तर्राष्ट्रिय रूपमा पनि इभेन्ट आयोजना हुन्छ’ उनले भने ।
विद्यालयमा जाँदैनन् पढ्न
कोविद पन्थी विद्यालयमा टपर नभएपनि राम्रै विद्यार्थी थिए । उनी भन्छन् ‘आमा बुबा टिचर भएको कारणले पनि होला म विद्यालय तहमा राम्रै विद्यार्थी थिए ।’ उनले विद्यालय तह विभिन्न भक्तपुरका विद्यालयमा पढे ।
उनी कक्षा १ माउन्ट एभरेष्ट विद्यालयमा पढे भने कक्षा २ जेन्युन विद्यालयमा पढे । त्यसपछि उनी कक्षा ३ देखि ५ सम्म लिटिल वर्ड्समा पढेका थिए । कक्षा ६ देखि १० सम्म मेधा विद्यालयमा पढेका थिए ।
उनले कक्षा १० को एसईई परिक्षामा ३.६ जीपीए प्राप्त गरेका थिए । पन्थी कक्षा ११ मा काठमाडौंको तत्कालिन एभरेष्ट वर्ल्ड विद्यालयमा भर्ना भएका थिए ।
उनले कक्षा ११ को परिक्षा आफै पढेर दिए तर विद्यालय भने पढ्न गएनन् । उनी भन्छन् ‘एकेडेमीक सबै चीज होइन । एकेडेमीक आफुलाई चाहिन्छ, चाहिदैन्, त्यो चाँहि पत्ता लगाउनु पर्यो।’
‘विद्यालय छोडियो भनेर पढ्न छाड्ने भने होइन । आफुलाई आवश्यक पर्ने विभिन्न अन्य चिजहरु पढ्नु पर्छ’ उनले भने, ‘मलाई एकेडेमीकले फाइदा गर्दैन् भनेर मैले कलेज पढ्न छोडेको हो ।’
उनले युट्युव, टिकटक, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा कन्टेन्ट समेत बनाउँदै आएका छन् ।