कीवर्डहरू -

नास्टले ११ विधामा पुरस्कार वितरण गर्दै, नवप्रवर्तन पुरस्कारमा आविष्कार केन्द्र छनोट

नास्टले ११ विधामा पुरस्कार वितरण गर्दै, नवप्रवर्तन पुरस्कारमा आविष्कार केन्द्र छनोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४४  औं प्राज्ञा सभाले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार २०७७ का लागि राष्ट्रिय आविष्कार केन्द्रलाई छनोट गरेको हो ।

४४  औं प्राज्ञा सभा चैत २३ गते सोमबार नास्टका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको थियो ।

उक्त सभामा प्रधानमन्त्रीले प्रतिष्ठानलाई बदलिएको वर्तमान सामाजिक, आर्थिक र राजनितिक परिस्थिति अनुरुप २१ सताब्दीका चुनौतिहरुलाई सामना गर्ने गरि प्रज्ञा-प्रतिष्ठानका कार्यक्रमहरु तय गरि अघि बढन निर्देशन दिएका थिए ।

उनले विद्वान एवं सम्वृद्द पुर्खाका सन्ततिको रुपमा हामीले हाम्रा पुराना ज्ञान र प्रविधिलाई संरक्षण गर्दै, उदीयमान प्रविधिहरुको नविन प्रयोगमा केन्द्रित हुनुपर्ने विषयमा समेत जोड दिए ।

प्राज्ञसभाका उपाध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्तो अग्रणी संस्था लगायत यस क्षेत्रमा क्रियाशील हरेक व्यक्ति वा संस्थाले आफुलाई नयाँ स्वरुपमा परिवर्तित गरि देशको सम्वृद्धिको वाहक हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४४ औं प्राज्ञसभाले २०७७ सालका लागि विज्ञान प्रविधिका ११ भिन्न विधाहरुमा १७ व्यक्ति वा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

जस अन्तरगत प्रकृति संरक्षण पुरस्कार     विश्व वन्यजन्तु कोष नेपाल, कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार    राष्ट्रिय आविष्कार केन्द्र, विज्ञान पुरस्कार ग्लोबल इन्स्टच्युट फर इन्टरडिस्सीप्लीनरी स्टडिज काठमाण्डौका डा. उत्तम बाबु श्रेष्ठलाई प्रदान गर्ने जनाइएको छ ।

त्यस्तै प्रविधि पुरस्कार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका    डा. शेर बहादुर पुन, विज्ञान तथा प्रविधि युवा पुरस्कार युनिभर्सल इञ्जिनियरिङ कलेज ललितपुरका डा. भेषराज थापा, विज्ञान तथा प्रविधि युवा पुरस्कार शिखर बायोटेक ललितपुरका     डा. सुनिता गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नास्टले विज्ञान तथा प्रविधि युवा पुरस्कार कृषि अनुसन्धान निर्देशनालय, प्रदेश नं. २ का डा. आनन्द मिश्र, विज्ञान तथा प्रविधि युवा पुरस्कार हिमालयन कलेज अफ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजीका डा. अनुपमा श्रेष्ठ, विज्ञान तथा प्रविधि युवा पुरस्कार व्यबहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका डा. सागर रेग्मीलाई प्रदान गर्ने भएको छ ।

विज्ञान तथा प्रविधि महिला पुरस्कार त्रिभुवन विश्रविद्यालयको सुक्ष्मजीव विज्ञान केन्द्रीय विभागका  डा. रेशमा तुलाधर, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार नेपाल विज्ञान शिक्षक समाज काठमाण्डौ, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार नेपाल एस्ट्रोनोमिकल सोसाइटी नेपालका मनिषा द्वा, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका गोविन्द प्रसाद पोखरेल, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार काठमाण्डौ विश्वविद्यालयका मिरा खड्कालाई प्रदान गरिने जनाइएको छ ।

दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि  केन्द्रीय विभागका प्रदीप कुमार चौधरी, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार कृषि तथा वन विश्वविद्यालय चितवनका दिपेश दुवे र विज्ञान शिक्षक पुरस्कार ज्ञानोदय माध्यमिक विद्यालय, बाफलका नातिकाजी महर्जनलाई प्रदान गरिने बताइएको छ ।