नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएसएम सेवाको विस्तार गरेको छ ।
करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्फत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।
करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपानसन मार्फत करादी बजारमा जिएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।
त्यसैगरि हाल जिएसएम प्रविधिबाट वायरलेस सेवा प्रदान गरिएपनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाईन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाईन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरि कार्य गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए ।
उनका अनुसार यो सेवा मार्फत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो ।
आईसीटी समाचार