नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा शुरु गरेको थियो ।
१७ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।
एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले ई–सेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको विकास गरेको छ ।
१७औँ वार्षिक उत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर प्रविधि निर्माण गर्ने बताए ।
‘हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेका छौं,’ उनले भने ‘यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौं ।’ कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
अधिकांश बैंकमा एफवान सफ्टको प्रविधि
नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् ।
कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् । एफवान सफ्टले विकास गरेको प्रविधि प्रयोग गरेर बैंकले ग्राहकलाई डिजिटल सेवा प्रदान गरिरहेका छन् ।
एक हजारलाई रोजगारी
एफवान सफ्ट इन्टरनेसनलले १ हजार बढीलाई रोजगारी प्रदान गरेको छ । एफवान सफ्ट र एफवान सफ्ट ग्रुप अन्तर्गत अन्य विभिन्न कम्पनीमा एक हजार बढीले रोजगारी पाएका छन् ।
१३ सहायक कम्पनी सञ्चालन
एफवान सफ्ट ग्रुप अन्तर्गत हाल एफवान सफ्ट सहित १३ कम्पनी सञ्चालन भइरहेका छन्, जसमा एफवान सफ्ट, ई–सेवा, फोनपे, ई–सेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, इसेवा ट्राभल रहेका छन् ।
१३ वटा कम्पनीमध्ये धेरैजसो कम्पनी एफवान सफ्टले नै विकास गरेको हो । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् ।
त्यस्तै यी कम्पनीहरूले डिजिटल इकोसिस्टमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याइरहेको एफवान सफ्ट ग्रुपका निर्देशक सुवास सापकोटाले बताए ।
एफवान सफ्ट इन्टरनेसनल
एफवान सफ्ट सफ्टवेयर डेभलपमेन्ट र इन्भेष्टमेन्ट कम्पनी हो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न कम्पनीमा लगानी (इन्भेष्टमेन्ट) गरिरहेको छ ।
अधिकांश बैंकहरूमा एफवान सफ्टले विकास गरेको अनलाइन र मोबाइल बैंकिङ सेवाहरू सञ्चालनमा छ । यसले नेपाल बाहिर पनि आफ्नो सेवा प्रदान गर्दछ ।
ई–सेवा
ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा बेटा भर्सन रिलिज गरी सन् २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ई–सेवाले हाल झण्डै ५० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई भुक्तानी सेवा दिइरहेको छ ।
ई–सेवाबाट हाल दैनिक २ लाखभन्दा बढीको कारोबार हुन्छ । हाल ई–सेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
ई–सेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । ई–सेवाको सेवा वेबसाइट र मोबाइल एप मार्फत प्रयोग गर्न सकिन्छ ।
फोनपे
राष्ट्र बैंकबाट अनुमति प्राप्त फोनपे भुक्तानी प्रणाली सञ्चालक हो । फोन पेको नेटवर्कमा १ करोड ३० लाख बढी रजिष्टर्ड युजर, १ लाख ५० हजार बढी मर्चेन्ट र ५० बढी पार्टनर आबद्ध रहेका छन् ।
फोन पे अन्तर्गत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्युआर पेमेन्ट, कर्पोरेट फोन पे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट सेवा उपलब्ध रहेका छन् ।
कोजेन्ट हेल्थ
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाद्वारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।
दियालो टेक्नोलोजिज
दियालो टेक्नोलोजीज पनि एफवान सफ्ट अन्तर्गतकै कम्पनी हो । कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
कम्पनीले नेपालमै पहिलो पटक क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।
दर्शन टेक, आइ सोलुसन
दर्शन टेकले नेपालको बिमा क्षेत्रलाई डिजिटलाइज गरिरहेको छ । आई सोलुसन नामक सफ्टवेयर निर्माण गरी बीमा क्षेत्रलाई डिजिटलाइज गर्ने अभियानमा कम्पनी अगाडि बढेको छ ।
बीमा क्षेत्रमा विदेशी सफ्टवेयरलाई विस्थापित गरी स्वेदेशी सफ्टवेयर स्थापित गर्नुमा दर्शन टेकको ठूलो हात रहेको छ । हाल नेपालका अधिकांश जीवन बीमा कम्पनीले दर्शन टेकको सफ्टवेयर प्रयोग गरिरहेका छन् । यो प्रडक्टले सन् २०१८ मा प्रडक्ट आइसिटी अवार्ड पनि प्राप्त गरेको थियो ।
ई–सेवा मनी ट्रान्सफर
रेमिट्यान्सलाई सहज र सरल रूपमा नेपाल भित्र्याउन सहयोग गर्ने उद्देश्यका साथ ई–सेवा मनि ट्रान्सफरको शुरु भएको हो । ई–सेवा मनि ट्रान्सफरको सेवा २२ देशमा विस्तार भइसकेको छ ।
विदेशबाट पठाएको रेमिट्यान्स ई–सेवा मनी ट्रान्सफरका ८ हजार बढी एजेन्ट तथा ई–सेवा वालेटबाट प्राप्त गर्न सकिनेछ । त्यस्तै नेपालमा कुनै पनि बैंक खातामा पठाइएको रकम तत्कालै जम्मा हुनेछ ।
एक्सटेन्सो डेटा
एक्सटेन्सो डेटा भनेको एफवान सफ्ट ग्रूप अन्तर्गतको डेटा एनालाइटिक्स कम्पनी हो । कम्पनीको एआई, डेटा एनालाइटिक्स, प्रेडिक्टिभ एनालाइसिस र बिग डेटामा दक्षता रहेको छ ।
कम्पनीले बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन सेवा प्रदान गर्दै आएको छ ।
लोजिका बिन्स
लोजिका बिन्स एफवान सफ्ट ग्रुप अन्तर्गतकै एउटा कम्पनी हो । यसले आउटसोर्सिङको काम गर्छ ।
सिरान टेक्नोलोजिज
सिरान टेक्नोलोजिज पनि एफवान सफ्ट गूू्रप अन्तर्गतकै कम्पनी हो । कम्पनीले इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आएको छ ।
सिरान टेक्नोलोजिजले म्यानेजमेन्ट सिस्टम, डेस्कटप तथा वेबमा आधारित एप्लिकेसन, मोबाइल एप्लिकेसन लगायतका सेवा प्रदान गर्दछ ।
स्वस्तिक कलेज
स्वस्तिक कलेज एउटा आईटी कलेज हो । स्वस्तिक कलेजमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषय पढाइ हुन्छन् । यो कलेजमा पढेका विद्यार्थीलाई एफवान सफ्टमा जब प्लेसमेन्टको सुविधा समेत हुने जनाइएको छ ।
बस सेवा
बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लाटफर्म हो । बस सेवाको मोबाइल एप र वेबसाइट प्रयोग गरी घरमै बसेर सहज रूपमा अनलाइनबाटै बसको टिकट काट्न सकिन्छ । साथै टिकटको पैसा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।
ई–सेवा ट्राभल
ई–सेवा ट्राभल पनि एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनी हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गर्छ । डिजिटल टिकेटिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो ।